स्वास्थ्य र जनस्वास्थ्यको अर्थ र भिन्नता
जलन (पोलाई)को सम्बन्धमा जनस्वास्थ्य परिप्रेक्षबाट हेर्नका लागि सबैभन्दा पहिले स्वास्थ्य र जनस्वास्थ्यको अर्थ राम्ररी बुझ्नुपर्ने हुन्छ । यस सन्दर्भमा सन् १९४६ मा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेको स्वास्थ्यको सर्वमान्य परिभाषालाई हेर्न सकिन्छ । उक्त परिभाषाअनुसार “स्वास्थ्य भनेको शारीरिक, मानसिक, एवं सामाजिक रूपले पूर्ण स्वस्थताको स्थिति हो,” रोग तथा सामान्य विसन्चोबाट मुक्त भएको स्थिति मात्र स्वास्थ्य होईन (Health is the state of complete physical, mental and social well-being, not merely the absence of disease and infirmity) । यस परिभाषाअनुसार रोग तथा विसन्चोको स्थितिलाई स्वास्थ्य भनिँदैन, तर हिजोआज सर्वसाधारण जनतादेखि देशको उच्च ओहदामा बस्ने अधिकारीहरूसमेतले गलत ढंगले रोगलाई पनि स्वास्थ्य भन्ने गरेको पाईन्छ । यो कुरा ठिक छैन । उदाहरणको निमित्त विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ रोगलाई लिऔँ । कोभिड–१९ एउटा सुक्ष्मकिटाणुले ल्याउने रोग हो, स्वास्थ्य होईन । स्वस्थ व्यक्तिमा कोभिड पाइँदैन । कोभिड रोग हो र रोगबाट सङ्क्रमित व्यक्तिलाई रोगी भनिन्छ । उ स्वस्थ व्यक्ति होईन ।
त्यस्तै कोभिडको सङ्क्रमण भएपछि स्वास्थ्य संस्था वा स्वास्थ्य केन्द्र (Health institution or Health centre) मा गएर तुरुन्त उपचार गराउनु भनी भन्ने गरिन्छ । यो भनाई पनि ठीक छैन । रोग लागेपछि उपचार गराईने ठाउँ हो उपचार केन्द्र वा अस्पतालहरू (Medical care center)। स्वस्थ व्यक्तिले स्वास्थ्य (रोग वा बिसन्चो नभएको स्थिति) सेवा लिन उपचार केन्द्र वा अस्पताल जानुपर्दैन । उ त स्वास्थ्य केन्द्रमा जानुपर्दछ जहाँ उसको स्वस्थताको स्थिति कायम गर्न अथवा स्वस्थताको स्थितिलाई अझ सम्बर्द्धन गर्दै लान आवश्यक सेवा दिने गर्दछ । तर आजकाल रोगको उपचार गर्ने केन्द्र, क्लिनिक वा अस्पताललाई गलत ढंगले ‘स्वास्थ्य केन्द्र’भन्ने गरिन्छ । त्यस्तै रोगको उपचारको ग्यारेन्टी लिने बीमालाई पनि स्वास्थ्य बीमा (Health insurance) भनेर गलत अर्थ लगाईएको छ । उपचार खर्चको ग्यारेन्टी लिने बीमालाई उपचार बीमा (Medical insurance) भनिन्छ न कि स्वास्थ्य बीमा । यसरी स्वास्थ्य र रोग, स्वास्थ्य सेवा र उपचार सेवालाई एउटै अर्थ लगाएर स्वास्थ्यको अर्थलाई अनर्थ बनाईरहेका छन् सरकारी, गैरसरकारी क्षेत्र एवं सर्वसाधारणसमेतले ।
स्वास्थ्य र रोग बीचको यस प्रकारको अन्तर थाहा पाएपछि अब जनस्वास्थ्यको अर्थ पनि बुझ्नु आवश्यक छ । रोग एवं बिमारीपनको उपचार गर्ने सेवा (Medical service) लाई जनस्वास्थ्य सेवा (Public health service) भनिँदैन । स्वास्थ्य भनेको रोग वा विमारी नभएको स्थिति हो भन्ने कुरालाई सकार्ने हो भने जनस्वास्थ्य भन्नाले शाब्दिक अर्थमा जनताको स्वस्थताको स्थिति हो । यस्तो स्वस्थताको स्थितिलाई जगेर्ना गर्ने र सम्बर्द्धन गर्ने उद्देश्यले दिईने सेवालाई नै जनस्वास्थ्य सेवा भनिन्छ । जुन सेवा अन्तर्गत स्वास्थ्यको सम्बर्द्धन (Health promotion), रोग र रोगका कारणहरू तथा घाउचोटको रोकथाम (Prevention of disease, risk factors and injuries), स्वास्थ्य सुरक्षा (Health protection), महामारी नियन्त्रण (Epidemic control), एवं समयमै रोग पत्ता लगाउन र उपचार गराउन जनतालाई प्रोत्साहन गर्ने जस्ता सेवाहरू समावेश भएका हुन्छन् । रोग लागीसकेपछि अथवा सघन घाउचोट लागेपछिको उपचार गर्ने सेवा चिकित्सा सेवा (Medical service) अन्तर्गत पर्दछन् । यसरी जनस्वास्थ्य सेवा र चिकित्सा सेवा पनि एकै हुन् भनी गलत ढंगले बुझ्नु हुँदैन । जनस्वास्थ्य सेवा जनस्वास्थ्यकर्मीहरूले र चिकित्सा सेवा चिकित्साकर्मीहरूले दिने सेवा हुन् । यी दुवै सेवाहरू मूलतः एउटै कर्मीहरूले दिईने सेवाहरू होइनन् । तर आजकाल जनस्वास्थ्य सेवा पनि चिकित्सकहरूले नै दिईने सेवा हो भनी गलत अवधारणा फैलिरहेको छ । सच्चा जनस्वास्थ्यकर्मीहरूलाई जनस्वास्थ्य सेवाको दायित्व बहन गराउने पद्धति देशको स्थानीय सरकारदेखि संघीय सरकारसम्मको तहमा यथोचित ढंगले समाहित भएको पाइँदैन । हाम्रो स्वास्थ्य एवं चिकित्सा सेवाको पद्धतिमा यो एउटा विडम्बना हो ।
जनस्वास्थ्यको दृष्टिमा जलन
अब जनस्वास्थ्यको दृष्टिकोणले जलनको विषयमा चर्चा गरौँ । जलन मान्छेको शारीरिक, मानसिक एवं सामाजिक अवस्थामासमेत धक्का पुर्याउने समस्या हो भन्ने कुरा कोट्याई रहनु आवश्यक छैन । जलनको घटनामा पर्ने व्यक्तिको साथै उसको परिवार, आफन्त एवं छरछिमेकलेसमेत जलनको असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अनुभव गरेका हुन्छन् । सवाल जलन हुन नदिने र घटना भईहालेमा समयमै त्यसको ठीक तरीकाले र कम खर्चले उपचार गर्नु हो । यस सन्दर्भमा दुईवटा कुराहरू महत्वपूर्ण हुन्छन् । ती हुन् : (१) सकेसम्म जलनको घटना नै हुन नदिने, र (२) कथंकदाचित जलनको घटना भई हालेमा त्यसको समयमै उचित उपचार गर्ने । यी दुई सवालका पाईलाहरूमा पहिलोलाई जनस्वास्थ्य (Public health) र दोस्रोलाई चिकित्सा (उपचार वा Medical care) का पाईलाहरू भनिन्छ । यी दुवै खालका पाईलाहरू जलनको मुद्दासित उत्तिकै सरोकार राख्दछन् । तर ‘आईपरेपछि मात्र जाईपर्ने’ हाम्रो परम्परागत सोचाई एवं व्यवहारले गर्दा हाम्रो समाजमा पहिलो पाईला (जनस्वास्थ्य) चाल्नेतिर कम ध्यान गईरहेको एवं कम श्रोतसाधनको व्यवस्था र परिचालन भईरहेको पाईन्छ ।
अर्को शब्दमा भन्ने हो भने जलन भईसकेपछि मात्र धन–जन खर्च गरेर उपचारतर्फ लाग्ने हाम्रो परिपाटी छ । जलन हुने परिस्थिति र घटना हुनदेखि बच्ने जनस्वास्थ्यका उपायहरूतर्फ व्यक्ति, संस्था वा राज्यसमेतले यथोचित ध्यान नदिएको अवस्था छ । यसको अर्थ हो, जलनको मामिलामा चिकित्सा सेवाको दाँजोमा जनस्वास्थ्य सेवालाई त्यति महत्व दिएको पाइँदैन वा जनस्वास्थ्य सेवालाई तन, मन, धन दिएको पाइँदैन । यसो हुनाको एउटा आधारभूत कारण हो जलनको सन्दर्भमा समाजको विभिन्न तहमा जनस्वास्थ्य र चिकित्सा भनेको वेग्लै तर अन्तरसम्बन्ध भएका सेवाहरू हुन् भन्ने कुराको अवधारणा स्पष्ट नहुनु । यस किसिमको अस्पष्टता सामान्य जनताको स्तरमा मात्र होईन देशको स्वास्थ्य एवं चिकित्साको रथ हाँक्ने सारथीहरूको बीचमासमेत विद्यमान छ । यसकारण यी दुईटा वेग्लै सेवाले जलनको मुद्दालाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने बारेमा छोटो चर्चा गरौं ।
माथि चर्चा गरिएझैं, जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरू (Interventions) मार्फत सम्बर्द्धनात्मक (Promotive), निरोधात्मक (Preventive), प्रतिरक्षात्मक (Protective), नियन्त्रणात्मक (Controling) एवं प्रोत्साहनात्मक (Encouraging) स्वास्थ्य सेवा (चिकित्सा सेवा होईन) दिने एउटा विज्ञान र कला हो । यो सेवामा जनस्वास्थ्यका तीनवटा महाक्षेत्रहरू (Domains) समावेश भएका हुन्छन् । ती हुन् चित्र नं १ मा देखाईए झैं, (१) विषयगत (Thematic), (२) मूल कदम (Core action), र (३) कार्यक्रमगत (Intervention) क्षेत्रहरू ।

यस अर्थमा स्वास्थ्य र स्वास्थ्यसँग सम्बन्धित विषयहरूबारे मूलकदम चाल्न केही कार्यक्रमहरू सञ्चालन गरिन्छन् । मूलकदमहरू भन्नाले (१) स्वास्थ्यस्तरको प्रर्वद्धन गर्ने, (२) रोग र रोग ल्याउने तत्वहरू तथा सघन घाउचोट आदि हुनबाट रोक्ने, (३) मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने, (४) महामारीको नियन्त्रण गर्ने, र (५) रोगको शंका लागेमा अथवा रोग पत्ता लागेमा सकेसम्म छिटो समयमै उपचार गराउन प्रोत्साहन गर्ने आदि हुन् । यी कदमहरूलाई चित्र नं २ मा देखाइएझैँ जनस्वास्थ्यको पाँच मूलकदम (The five core actions) भन्ने गरिन्छ ।

उल्लेखित पाँच कदम चाल्नका निम्ति केही कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ । ती कार्यक्रमहरू शैक्षिक सशक्तिकरण, नीति एवं नियम कानून निर्माण, जनसहभागिता तथा परिचालन, भौतिक पूर्वाधार निर्माण र व्यवस्थापकीय संरचना हुन सक्छन् । यी कार्यक्रहरूलाई जनस्वास्थ्य कार्यक्रम (Public health interventions) भन्ने गरिन्छ ।

जनस्वास्थ्यका यी माथिका तीन महाक्षेत्रहरूलाई जलनको सन्दर्भमा प्रयोग गरेर हेर्दा त्यसको परिदृष्य तल वर्णन गरिएजस्तो देखिन आउँछ ।
(१) विषयगत महाक्षेत्रको परिदृष्यमा जलन (Burn scenario under the thematic domain)
जनस्वास्थ्यले सम्बोधन गर्ने विभिन्न विषयहरूमध्ये जलन एउटा जल्दोबल्दो विषय हो । कुनैपनि प्रकारको ताप जस्तै आगोको ज्वाला, तातो पानी वा कुनैपनि प्रकारको तातो झोलपदार्थ, तातो बाफ, तातो वस्तु/सामग्री, करेण्ट र एसिड जस्ता रसायनिक पदार्थसँग शरीरको कुनैपनि भाग सम्पर्कमा आएमा वा छोईएमा जलन हुन्छ (महर्जन निरन, जलन) । नेपालमा एक वर्षमा लगभग ५५ हजारको हाराहारीमा जलन घटना घट्ने र यसैको कारण २,२०० जना जतिले ज्यान गुमाउनुपर्ने अवस्था रहेको देखिन्छ (सम्पादकीय, जलन) । यसकारण जनस्वास्थ्यकर्मीहरूले जलनलाई गौणरूपमा हेर्नु हुँदैन । जलन एउटा जनताको स्वास्थ्य समस्या हो । यसलाई जनस्वास्थ्यको अवधारणाबाट सम्बोधन गर्दा सबभन्दा पहिले त जलनका घटना हुनै नदिन जनस्वास्थ्यका पाँच मूल–कदमहरूमध्येको दोस्रो कदम ‘रोकथाम’ को उपायहरूसम्बन्धी कार्य गर्न निधो गर्नुपर्छ ।
(२) जनस्वास्थ्यको मूल–कदमको चयन (Selection of public health core actions)
जनस्वास्थ्यको सामान्य नियम बमोजिम कुनैपनि विषयले यदि व्यक्तिको स्वास्थ्यलाई सकारात्मक असर गर्छ भने हामी त्यस विषयको प्रवर्धनात्मक (Promotive) कार्य गर्छौं । तर, यदि कुनै विषयले व्यक्तिको स्वास्थ्यलाई नकारात्मक असर गर्छ भने हामी त्यस विषयको रोकथाम, त्यस विषयबाट बच्न शरीरको प्रतिरक्षा शक्ति बढाउने, समस्या धेरै फैलिन नदिन नियन्त्रण गर्ने र समयमै उपचारको लागि प्रोत्साहन गर्ने कार्य गर्छौं । यसरी विषयको चरित्र हेरी एक, दुई वा चारैवटा मूलकदमहरू अपनाईने बारे निधो गर्नुपर्दछ । जलन एक नकारात्मक विषय हो किनभने जलन होस् भन्ने कसैले चाहँदैन । त्यसैले, जलन हुनबाट रोक्नका लागि वा जलन रोकथामलाई नै मूल कदम बनाउनुपर्छ ।
(क) जलनको रोकथाम (Prevention of burn)
जलनसम्बन्धी नेपालमा गरिएका विभिन्न अनुसन्धानहरूले ९५ प्रतिशतभन्दा बढी जलनका घटनालाई रोकथाम गर्न सकिने देखाएको छ (जलन वर्ष ३ अंक ८, २०७८) । नेपालमा हुने गरेका अधिकांश जलनका घटनाहरू दुर्घटनाबश हुने गर्दछ भने केही घटना नियतबश गराईएको वा गरिएको हुन्छ । दुर्घटना वा नियतबश गराईएको होस् सबै जलनका घटना रोक्न सकिन्छ (जलन वर्ष २, अङ्क ६) । यी उद्धृत कुराले के देखाउँछ भने जनस्वास्थ्यका ५ मूल–कदममध्ये रोकथाम वा प्रतिकारात्मक कदम चाल्नु अत्यन्त उपयुक्त देखिन्छ । जलनको रोकथाम गर्ने काम दुईतहमा गर्नुपर्ने हुन्छ । एउटा हो, अत्यधिक तापसित मान्छेको सम्पर्क हुनबाट रोक्ने । यस तहको रोकथामलाई जलनको तत्काल रोकथाम (Immediate prevention) भनिन्छ । जस्तै अत्यधिक तातो पानी छोएर वा पोखेर शरीरसित सम्पर्कमा आउनबाट रोक्ने । बलेको चुल्हो वा आगो नजिक बच्चाहरू जानबाट बचाउने । शरीरमा मट्टितेल, पेट्रोल र एसिड खन्याईनबाट बचाउने । नाङ्गो तार छोईनबाट बचाउने ।
अर्को तहको रोकथाम भनेको जलन हुने परिस्थिति आउने खतराजनक सामाजिक, आर्थिक सांस्कृतिक एवं यान्त्रिक तत्वहरूको रोकथाम गर्ने । यस तहको रोकथामलाई खतराजन्य अवस्थाको रोकथाम (Risk factor prevention) भनिन्छ । जस्तै चुल्हो वा अगेना भएकै कोठामा बालबच्चा लगाएत परिवारसमेत बस्ने सुत्ने बाध्यतालाई हटाउने । पुरानो वा असुरक्षित खालका ग्यांसका सिलिण्डरहरू उपभोक्ता समक्ष जानबाट रोक्ने । परिवारमा रिस–बैमनष्यता जस्ता कलहको वातावरण उत्पन्न हुन नदिने, जुन वातावरणमा तातोपानी छ्याप्ने, अगुल्टोले हिर्काउने जस्ता जलनको खतराजनक परिस्थिति सिर्जना हुन सक्छ । त्यस्तै दाईजो नल्याएको बहानामा नवदुलहीको शरीरमा मट्टीतेल खन्याएर जलाई दिने जस्ता सामाजिक–आर्थिक कुरुतीहरू रोक्ने । एसिड आक्रमण गर्ने जस्ता घटनाहरू रोक्न समाजमा कलह, द्धेष एवं वैरभाव कम गर्ने वा रोक्ने ।
जलनको उपचारमा जनधन तथा समय खेर फाल्नुभन्दा जलनको रोकथाम नै सबभन्दा उत्तम उपाय हो । तर नेपालको परिपेक्षमा जलनको रोकथामभन्दा बढी उपचारउन्मूख हुँदै गएको देखिन्छ । जलनको घटनामा वृद्धि हुनमा यो पनि एक कारण बन्न गएको छ । यस सन्दर्भमा खासगरी गाउँपालिका एवं नगरपालिका जस्ता स्थानीय सरकारहरूले जनस्वास्थ्यको खास अर्थ बुझेर जनस्वास्थ्यकर्मीहरूलाई (चिकित्साकर्मीहरूलाई होईन) परिचालन गरी जलनका घटना हुन नदिने वा कम गर्ने उपायहरू घरदैलोमा पुर्याउनुपर्ने आवश्यकता छ ।
(ख) जलनको असर विरूद्ध प्रतिरक्षा (Protection against the burns’ effects)
प्रतिरक्षा भनेको रोग ल्याउने तत्वहरू वा घाउचोटसित मानव शरीर सम्पर्कमा आए तापनि रोग लाग्ने स्थिति आउन नदिन शरीरमा रहेको रोग प्रतिरोधक क्षमता (Immunity) ले काम गर्नु हो । यस्तो खालको क्षमता खोप (Immunization) लिने एवं शुक्ष्म पौष्टिक तत्व भएका खानेकुराहरू (Comsumption of micronutrients) खानाले विकास हुन्छ । जलनको हकमा तापसित सम्पर्कमा आईसकेपछि जलन नहोस् भनी खोप दिएर शरीरमा प्रतिरक्षा बढाउने उपाय आईसकेको छैन त्यसैले जनस्वास्थ्यका ५ वटा मूल–कदमहरूमध्येको यो कदम रोकथामको दाँजोमा त्यति सान्दर्भिक देखिँदैन ।
(ग) जलनको महामारी र यसको फैलावटको नियन्त्रण (Control of outbreak or spread of incidence of burns)
जलनको महामारी भन्नाले कुनै खास किसिमको जलन वा खतराजनक कारकतत्वहरू कम समयभित्र धेरै मान्छेहरूमा देखा परेर एक ठाउँबाट अर्को ठाउँमा छिट्टै फैलिँदै जानु हो भन्ने बुझिन्छ । सरूवा रोगको महामारीको दाँजोमा जलनको महामारी त्यति प्रचलित होईन । तैपनि जलनको महामारी पनि एदाकदा देखा पर्न आउँछ । जस्तै नेपालको दक्षिणी भेगमा प्रशस्त दाईजो नल्याएको कारण बुहारीलाई मट्टितेल या पेट्रोल खन्याएर जलाउने गरेको छ । जलनको घटना गराउने यस्ता सामाजिक–आर्थिक कारकतत्वहरू (Risk factors) ले गर्दा धेरै महिलाहरू जलनको सिकार बनेका छन् भने यस्तो प्रथा एक समुदायबाट अर्को समुदायमा सर्दै जानुलाई पनि एक किसिमको महामारी नै हो भन्न सकिन्छ । यसरी हुने जलनका घटनाहरूको फैलावटलाई नियन्त्रण गर्न जनस्वास्थ्यको रोकथाम मात्र होईन नियन्त्रणात्मक कदम पनि चाल्नुपर्ने हुन्छ । यसरी जलनको नियन्त्रण गर्नको निमित्त शैक्षिक सशक्तिकरण एवं नीति–नियम निर्माण गरी लागु गर्नुपर्ने हुन्छ ।
(घ) समयमै तथा पूर्ण उपचारको लागि प्रोत्साहन (Encourage for early treatment and compliance)
जब जलनको घटना एवं यसका कारक तत्वहरूको रोकथाम एवं नियन्त्रण गर्दागर्दै पनि रोकथाम गर्न सकिँदैन तब जलनका विभिन्न खालका घटनाहरू भईरहन्छन् । जलन भईसकेपछि जलनको मात्रा र प्रकृति हेरी प्राकृतिकदेखि सघन उपचारसमेत गर्नु बाहेक अरू उपाय छैन । जलनको मात्रा धेरै छ भने चिकित्सकीय उपचार (Clinical treatment) को आवश्यकता हुन्छ जुन मेडिकल क्लिनिक या अस्पतालमा काम गर्ने चिकित्साकर्मीहरूले गर्दछन् । यस्तो उपचार गर्ने काम जनस्वास्थ्य अन्तर्गत जनस्वास्थ्यकर्मीहरूको कामको दायराभित्र पर्दैन । जलनको घटना भएको खण्डमा जनस्वास्थ्यकर्मीहरूको काम भनेको प्रभावित व्यक्तिलाई जलनको समयमै उपचार गर्न र घाउ निको नभएसम्म उपचार जारी राख्न प्रोत्साहित (Encouragement) गर्नु हो । यसरी उपचार गराउने काममा सहयोग पुर्याउन परिवारका सदस्यहरू एवं समुदायका जनसमूह समेतलाई प्रोत्साहित गर्नु हो ।
जलनको हकमा जनस्वास्थ्यका ५ मूल–कदमहरूको उपादेयताबारे निम्न तरिकाबाट सङ्क्षिप्तमा विवरण दिन सकिन्छ ।
(ङ) जलनको विषयमा ५ मूल–कदमहरू कार्यान्वयन गर्न कार्यक्रमहरू (Intervention to implement the five core-actions on burns)
जनस्वास्थ्यका तीन महाक्षेत्रहरूमध्ये विषयगत तथा मूल–कदमका क्षेत्रहरूको जलनसित सम्बन्ध राखेर माथि वर्णन गरिसकिएको छ । यहाँ तेश्रो महाक्षेत्र कार्यक्रम (Intervention) बारे छोटकरीमा वर्णन गरिन्छ । जलनको रोकथाम, नियन्त्रण तथा जलन भएमा त्यसको समय मै पूर्ण उपचार गराउन प्रोत्साहन दिने कदमहरू स्वतः चालिँदैन । यी कदमहरू चाल्ने सिलसिलामा केही ठूला–साना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ । कार्य सञ्चालन निम्न खालका हुन सक्छन् :
(क) सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रम (Community health education intervention)
(ख) सक्षमता वृद्धि कार्यक्रम (Enabling intervention)
(ग) नीतिगत एवं कानुनी कार्यक्रम (Policy & legal intervention)
(घ) सामुदायिक संगठन, सहभागिता र कार्य सम्पादन कार्यक्रम (Community organization, participation & action intervention)
(ङ) भौतिक संरचनागत कार्यक्रम (Infrastructural intervention)
(च) व्यवस्थापकीय कार्यक्रम (Managerial intervention)
(क) जलनबारे सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रम
जलनको रोकथाम, नियन्त्रण, तथा समयमै उपचारको लागि प्रोत्साहन दिने मूल–कदमहरूलाई कार्यान्वयन गर्ने क्रममा सबभन्दा महत्वपूर्ण र सबैभन्दा पहिला गर्नुपर्ने कार्यक्रम हो जलनबारे सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रम । जलनको दुरस्थ एवं तत्कालको कारणको रोकथाम, जलनको महामारी नियन्त्रण र जलन भएको अवस्थामा तुरुन्त उपचार गराउन जान सम्बन्धित व्यक्ति, परिवार र समाजको व्यवहारमा परिवर्तन हुनु अत्यावश्यक छ । जलनबारे स्वास्थ्य शिक्षा भनेको शिक्षण प्रक्रिया मार्फत सर्वसाधारणको जलनसम्बन्धी ज्ञान (Knowledge), धारणा (Attitude), र अभ्यास (Practice) मा सकारात्मक परिवर्तन ल्याउने प्रक्रिया हो । यो प्रक्रियामा मानिसको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक तथा प्राविधिक परिवेसलाई ध्यानमा राखेर जनस्वास्थ्यकर्मीहरूले उपयुक्त शैक्षिक विधि र सञ्चारका माध्यम अपनाएर जलनसम्बन्धीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याईदिन्छ, जसले गर्दा समुदायमा हुने जलनका घटनाहरूलाई र जलनबाट हुने अपाङ्गता जस्ता शारीरिक एवं कुरूप भएर आत्मग्लानी जस्ता मानसिक असरहरूलाई कम गर्न वा रोक्न मदत गर्न सकिन्छ । यस सिलसिलामा जलनबारे जनचेतना जगाउने, केही काम गरेर स्वास्थ्य शिक्षा दिने कार्य भयो भनेर ढुक्क हुनु हुँदैन किनभने जनचेतना जगाउने भनेको स्वास्थ्य शिक्षा प्रक्रियाको पहिलो चरण मात्र हो ।
(ख) जलनबारे सक्षमता वृद्धि कार्यक्रम (Enabling intervention regarding burns)
कतिपय अवस्थामा शैक्षिक कार्यक्रमबाट मानिसहरूको जलनसम्बन्धी ज्ञान, धारणा र अभ्यासमा सरल ढंगले सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । कतिपय अवस्थामा मानिसहरूले जलनसम्बन्धी सकारात्मक ज्ञान, धारणाको विकास गरे तापनि आर्थिक, सामाजिक र प्राविधिक कारणहरूले गर्दा आफ्नो ज्ञान र धारणाअनुसारका अभ्यास गर्न असक्षम भईरहेका हुन्छन् । यस्तो अवस्थामा जलनको समस्या समाधान हुन गाह्रो पर्दछ । त्यसकारण जनस्वास्थ्यको एउटा कार्यक्रम (Intervention) को रूपमा जलनको रोकथाम, नियन्त्रण र समयमै उपचार गर्नसक्ने गरी जनतालाई सक्षम बनाउनुपर्ने हुन्छ । यसका लागि प्रत्यक्ष या अप्रत्यक्षरूपमा विभिन्न उपायहरू अपनाउनुपर्दछ । केही उपायहरू जनस्वास्थ्यका अन्य कार्यक्रमहरू जस्तै शिक्षा, नीति–नियम तथा कानूनको व्यवस्था, भौतिक सुविधाहरूको उपलब्धता र व्यवस्थापकीय सहुलियत आदि हुन् । यी विभिन्न उपायहरू अपनाएर जनतालाई सक्षम बनाउन सकिएमा जलन हुने घटना र यस्तो घटनाबाट हुनसक्ने दीर्घकालीन असरलाईसमेत रोकथाम गर्न मदत पुग्दछ ।
(ग) नीतिगत एवं नियम–कानूनको कार्यक्रम (Policy & legislative intervention regarding burns)
जलन रोकथाम, नियन्त्रणका लागि जनस्वास्थ्य क्षेत्रबाट गर्न सकिने एउटा अर्को कार्यक्रम जलनसम्बन्धी नीति र ऐन–कानून (Policy & legislative intervention regarding burns) को तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु हो । यसको लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारका सरोकारवाला अधिकारीहरूले पहल गर्नुपर्दछ । यदि सरकारका ती सरोकारवालाहरूले पहल नगरेको अवस्थामा जलनसम्बन्धी चासो लिने गैरसरकारी संघ–संस्थाहरू अथवा जनस्वास्थ्य अभियन्ताहरूले पैरवी गर्नुपर्ने हुन्छ । जलनसम्बन्धीका केही नीति–कानूनहरू निम्न प्रकारका हुन सक्छन् ।
- देशको स्वास्थ्य एवं चिकित्सा सेवा क्षेत्रमा जलनको रोकथाम नियन्त्रण र समयमै उपचारबारे नीतिहरू समावेस गर्ने,
- जलनको घटना निम्त्याउन सक्ने प्राविधिक रूपले त्रुटिपूर्ण र कम गुणस्तरका औजार एवं सरसामानहरूको उत्पादन एवं बजारीकरण गर्न हतोत्साह गर्ने नीतिहरू,
- जलनको घटना गराउन सक्ने सामाजिक एवं धार्मिक क्रियाकलापहरूमा सावधानी अपनाउनुपर्ने वा त्यस्ता क्रियाकलापहरू गर्नबाट निरूत्साह गर्ने खालको नीति,
- विद्यालयस्तर मै जलनसम्बन्धी ज्ञान, धारणा र अभ्यासमा सकारात्मक परिवर्तन ल्याउने खालका शिक्षा दिनुपर्ने नीति,
- एसिड प्रहार तथा मट्टितेल खन्याएर नियतवस गरिने जलनलाई रोकथाम गर्न एसिड प्रहार गर्ने वा मट्टितेल खन्याउनेहरूलाई कडा सजाय दिने प्रावधान भएको ऐन–कानून,
- जलनको घटना घटाउने पटाका भुईचम्पा जस्ता मनोरञ्जनात्मक वस्तुहरूको निकासी पैठारी एवं प्रयोगलाई हतोत्साह गर्ने ऐन–कानून,
- विजुली जडान गर्दा सुरक्षित मापदण्ड अपनाउनुपर्ने सम्बन्धी ऐन–कानून,
- खाना पकाउने ग्यास सिलिण्डर सुरक्षित हुनुपर्ने र असुरक्षित अवस्था मै बजारीकरण गर्ने प्रकृति रोक्ने ऐन–कानून ।
(घ) सामुदायिक संगठन, सहभागिता र कार्य सम्पादन (Community organization, participation and action)
जलनको रोकथाम एवं नियन्त्रणको लागि जनस्वास्थ्यको एक अर्को अत्यावश्यक कार्यक्रम (Intervention) हो सामुदायिक संगठन, सहभागिता र कार्य सम्पादन । यहाँ समुदाय भन्नाले संगठित भएर बसोबास एवं कामकाज गरेर बसेका जनसमूह भन्ने बुझ्नुपर्दछ, जस्तै परिवार, टोलछिमेक, विद्यालय, कल–कारखाना, कार्यालय, संघसंस्था आदि । जलनको रोकथाम, नियन्त्रण तथा समयमै उपचारको लागि प्रोत्साहन गर्ने कामको लागि यी विभिन्न समुदायहरूले आफै संगठित भएर वा अरू बाहिरीया समूह वा जनस्वास्थ्यकर्मीहरूको पहलमा संगठित भएर सहभागितामूलक ढंगले जलनसम्बन्धी (उदाहरणको निमित्त) निम्न कार्यहरू सम्पादन गर्न सक्दछन् ।
- समुदायमा सञ्चालन हुने जलनबारे शैक्षिक कार्यक्रमहरूमा भाग लिने र अरुलाई पनि लिन लगाउन संलग्न हुने,
- जलनको रोकथाम र नियन्त्रणको लागि नीति–नियम एवं कानून तर्जुमा गराउनका लागि संगठित रूपमा वकालत गर्ने,
- समाजमा एसिड प्रहार गर्ने, महिलाको शरीरमा मट्टितेल खन्याएर जलाउने, रिसीवीमा अरूको घर–पसल जलाउने, असुरक्षित ग्यासका सिलिण्डरहरू बजारमा ल्याइने जस्ता जलनका घटनाहरू विरूद्ध संगठितरूपमा आवाज उठाउने, विरोध गर्ने जस्ता कदमहरू चाल्ने,
- समाजमा जलनको घटना हुन सक्ने परिस्थितिहरूको निगरानी गर्न र समय मै त्यस्ता परिस्थितिहरू निराकरण गर्ने–गराउने ध्येयले जलन रोकथाम टोलीहरू स्थापना गरी काम गर्ने ।
(ङ) भौतिक संरचना कार्यक्रम (Infrastructural intervention)
जलनको रोकथाम एवं नियन्त्रणको लागि माथि उल्लेख गरिएका शैक्षिक, सक्षमता वृद्धि, नीति–कानून, सामुदायिक संगठन कार्यक्रमहरूको लक्ष प्राप्त गर्नको जलनका कारकतत्व तथा रोकथाम र नियन्त्रणसम्बन्धी भौतिक सामग्रीहरूको उचितता एवं व्यवस्थातर्फ पनि जनस्वास्थ्यले ध्यान पुर्याउनुपर्ने हुन्छ । यसरी जनस्वास्थ्यको एउटा अर्को कार्यक्रम भनेको भौतिक संरचना कार्यक्रम हो । जलनको परिप्रेक्षमा भौतिक सामग्री एवं परिस्थितिको सुरक्षितपन महत्वपूर्ण हुन्छ, यसको लागि गर्न सकिन्छ ।
- तातोपानी वा पकाएका खानेकुरा पोखेर पोल्ने घटना हुन नदिन बलियो र दरिलो बिँड भएको भाँडाँकुँडा प्रयोग गर्ने,
- बस्ने र सुत्ने ठाउँबाट प्रर्याप्त दुरीमा चूल्हो बनाउने,
- ग्यास नचुहिने खालको सिलिण्डर र रेगुलेटरको व्यवस्था गर्ने,
- बिजुलीको करेण्टसित प्रत्यक्ष सम्पर्क नहुने किसिमले वायरिंग गर्ने,
- कानूनले व्यवस्था गरेको ठाउँ बाहेक अन्य ठाउँमा एसिड उपलब्ध नगराउने वा नहुने वातावरण तयार गर्ने ,
- पटाका, भुईचम्पाहरू उपलब्ध नगराउने वा नहुने वातावरण तयार गर्ने,
- चिसोमा शरीर न्यानो बनाउन आगो ताप्दा आगोले ताप्ने व्यक्तिको लुगा सल्किन सक्ने भएकाले आगो र व्यक्तिबीच भौतिक दुरी कायम गर्ने ।
(च) व्यवस्थापकीय कार्यक्रम (Managerial intervention)
जलन रोकथाम, नियन्त्रण र जलन भएको खण्डमा समयमै उपचार गर्न प्रोत्साहन दिने जस्ता जनस्वास्थ्यका मूल–कदमहरू शैक्षिक, नीतिगत, कानूनी, सामुदायिक कदम, भौतिक संरचनाको तर्जुमा जस्ता कार्यक्रमहरू सुचारू एवं प्रभावकारी ढंगले अगाडि बढाउन विवेकपूर्ण, सक्षम र जागरूक व्यवस्थापनको आवश्यकता पर्दछ । यसैले जनस्वास्थ्यको एउटा अर्को कार्यक्रम व्यवस्थापकीय कार्यक्रम (Public health managerial intervention) लाई अघि सार्ने गरिन्छ । जलनको हकमा व्यवस्थापकीय कार्यक्रम अन्तर्गत निम्न क्रियाकलापहरू गर्न सकिन्छ ।
- संगठनात्मक संरचना (Organizational structure) : स्थानीय सरकार (गाउँपालिका, नगरपालिका) एवं संघीय सरकारको तहसम्मको संरचनामा जनस्वास्थ्यको एउटा छुट्टै विभाग, शाखा वा एकाइको व्यवस्था हुनुपर्दछ । यस्तो एकाइको काम जलनको घटना घटिसकेपछि जलनको बिरामीको औषधीजन्य वा शल्यक्रियाबाट उपचार गर्ने नभई समुदायमा जलनको रोकथाम, नियन्त्रण र जलन भएकै खण्डमा समयमै उपचार गराउन प्रोत्साहन दिने हुनुपर्दछ । यस्तो एकाइहरूमा जनस्वास्थ्यकर्मीहरूको नेतृत्व हुनुपर्दछ । औषधी, डाक्टर एवं अस्पताल र क्लिनिकहरूलाई बढावा दिएर समुदायमा जलनको घटनाको रोकथाम एवं नियन्त्रण हुन सक्दैन । स्थानीयस्तरका वडा अध्यक्षलगायत पालिका अध्यक्ष, उपाध्यक्ष, प्रादेशिक स्वास्थ्य मन्त्रालय एवं संघीय स्तरका स्वास्थ्य एवं चिकित्सा अधिकारीहरूले यो कुरालाई गहनरूपले विचार गर्नु आवश्यक छ ।
- जनशक्ति श्रोत (Human resource) : सरकारको प्रत्येक तहमा स्वास्थ्य एकाइ स्थापना गरी जलनको रोकथाम, नियन्त्रण र उपचारको लागि प्रोत्साहन दिने विशेष कामको लागि समुदायमा गएर काम गर्ने जनस्वास्थ्य कार्यकर्ताहरूको व्यवस्था गर्नुपर्दछ । यस किसिमका जनशक्तिले समुदायमा जलन जस्ता घटनाहरू हुन नदिई जनधनको ठुलो क्षति हुनबाट जोगाउँछ । त्यसकारण समुदाय तहमा जनस्वास्थ्यकर्मीहरूको व्यवस्था गर्नु र उनीहरूलाई जलन रोकथाम र नियन्त्रणसम्बन्धी ज्ञान दिई त्यसअनुसारको कार्य सम्पादन गर्न उपयुक्त वातावरण बनाई दिनु प्रत्येक तहको सरकारको दायित्व हो ।
- योजना (Planning) : जलनको रोकथाम, नियन्त्रण एवं समयमै उपचार गराउन प्रोत्साहनको लागि जनस्वास्थ्यकर्मीहरूको व्यवस्था गरी जलनबारे के, कसरी, कहिले र कस्ता श्रोतहरू प्रयोग गरेर कार्यक्रमहरू सञ्चालन गर्ने भन्नेबारे प्रष्ट योजनाहरू बनाएर अघि बढ्नुपर्छ । योजनासहित कार्य गर्दा कार्य सम्पादन गर्न र उद्देश्य प्राप्त गर्न सहज हुने गर्दछ ।
- बजेटको व्यवस्था (Arrangement of budget) : जनस्वास्थ्यकर्मीसहितको जनस्वास्थ्य एकाइबाट योजनाबद्ध ढंगले जलन रोकथाम, नियन्त्रण र समयमै उपचारको लागि प्रोत्साहन दिने कामको लागि तहगत सरकारले पर्याप्त मात्रामा आर्थिक बजेटको व्यवस्था गर्नुपर्दछ । बजेट बिनियोजन गर्न कन्जुस्याई गर्नु हुँदैन । पर्याप्त आर्थिक बजेटको व्यवस्था भएन भने जनस्वास्थ्य एकाइमा बसेर जनस्वास्थ्यकर्मीहरूले योजनाअनुसार काम गर्न नसक्ने हुन्छ र जलनको क्षेत्रमा लाभजनक परिणामहरू निकाल्न सकिँदैन । त्यस्तो अवस्थामा जलनको समस्या यथावत रहन्छ ।
- सुपरिवेक्षण र अनुगमन (Supervision and monitoring) : जलनसम्बन्धी व्यवस्थापकीय कार्यक्रम अन्तर्गत गर्नुपर्ने महत्वपूर्ण कार्य जलनको रोकथाम, नियन्त्रण एवं प्रक्रियाको सम्बन्धित निकायले सुपरिवेक्षण एवं अनुगमन गर्नु हो । यस्ता क्रियाकलापले जलनको घटना समयमै प्रभावकारी ढंगले रोकथाम एवं नियन्त्रण गर्न सघाऊ पुर्याउंदछ । क्रियाकलापहरूमा देखापरेका कमी–कमजोरीहरूमा समय मै सुधार ल्याउन सकिन्छ ।
यी माथिका विवरणहरूले जलनको समस्यालाई जनस्वास्थ्यको दृष्टिकोणबाट कसरी हेर्नुपर्छ, कसरी काम गर्नुपर्छ र कस्तो परिणाम ल्याउन सकिन्छ भन्ने कुराको मेसो दिएको हुनुपर्दछ भन्ने आशा गर्न सकिन्छ । मुख्य कुरा प्रत्येक तहको सरकार, गैरसरकारी संस्था, सामुदायिक अभियन्ता लगायत सर्वसाधारणले पनि जलनको समस्यालाई जनस्वास्थ्यको परिप्रेक्षबाट पनि सम्बोधन गर्नुपर्ने हुन्छ । औषधी, अस्पताल र डाक्टरको व्यवस्थासहित उपचार सेवा दिएर मात्र समुदायमा अकस्मात एवं नियतवस हुने जलनको घटना रोकिने छैन । माथि उल्लेख भएका जनस्वास्थ्यको अवधारणा र क्रियाकलापहरूले मात्र जनतालाई जलनको घटना र पीडा हुनबाट बचाउन सकिन्छ ।
सन्दर्भ ग्रन्थ
१. जलन (त्रैमासिक पत्रिका), ललितपुर : सगुन (सामाजिक अनुसन्धान तथा विकास केन्द्र), वर्ष २ अङ्क ६, २०७७ ।
२. जलन (त्रैमासिक पत्रिका), ललितपुर : सगुन (सामाजिक अनुसन्धान तथा विकास केन्द्र), वर्ष ३ अङ्क ८, २०७८ ।
३. Purbanchal University, Curriculum (Revised), Bachelor of Public Health, Gothgaon, 2019.




Thank you for very useful post.
Very insightful article sir.