spot_img

एसईई नतीजाः विद्यार्थीलाई ‘बिल्ला’होइन, उत्प्रेरणाको खाँचो छ

सधैंझैं आफ्नो अफिसको काम सकेर फेसबुकको भित्ताहरू नियाल्दै थिएँ । त्यहाँ अटाइनअटाई एसईई नतिजाबारे धेरैको टीकाटिप्पणी आइरहेका थिए । नआओस् पनि कसरी ! ‘फलामे ढोका’मानिने एसईईको परिक्षाको नतिजा प्रकाशित भएको थियो । ती टीकाटिप्पणीहरूले मलाई आफ्नो विगतमा पुर्‍यायो । मैले आफैले एसएलसी दिएको बेलाको सम्झना आयो । एसईई जस्तो परिक्षालाई विद्यार्थीहरूले कसरी लिएका हुन्छन्, परिक्षाको परिणामप्रतिको टीकाटिप्पणीले विद्यार्थीको मनोविज्ञानमा कस्तो असर पार्दछ भन्नेबारे चर्चा गर्नु नै यस लेखको मूल उद्देश्य हो । 

लगभग ९ वर्षअघि मैले एसएलसी परिक्षा दिएकी थिएँ । त्यतिबेला कडा फलामे ढोका मानिने एसएलसीलाई निकै भयङ्कर र डरलाग्दो हिसाबले बयान गर्ने गरिन्थ्यो । कलिलो मनस्थितिमा त्यही डरलाग्दो बयानहरूको प्रभावले होला एसएलसी परिक्षाको नतिजा आउने दिन निकै डराएकी थिएँ  । सानैदेखि पढाईमा अब्बल मबाट परिवारका सबैले धेरै आशा राखेका थिए । म आफैले पनि उत्कृष्ट नतिजाको अपेक्षा राखेकी थिएँ । अन्त्यमा नतिजा प्रकाशित भयो र मैले ८७% ल्याएर एसएलसी उत्तीर्ण गरेँ । त्यतिबेला म त्यो नतिजाबाट खुसी थिइन । भित्री मनमा लागेको थियो कि मैले त्योभन्दा अझै राम्रो गर्न सक्थेँ, त्यसैले म बेखुसी थिएँ । मनमा म सफल विद्यार्थी होइन भन्ने भाव पैदा भएको थियो । त्यही कुराले मेरो मनमा निरासाले डेरा जमाउन थालिसकेको थियो । तर, त्यतिखेर मेरो परिवारबाट पाएको सहयोग र मायाले मलाई निरासाबाट आउन सक्ने परिणामबाट बच्न सकेँ । त्यतिबेला परिवारबाट पाएको साथ र सहयोगले मलाई धेरै ठुलो पाठ सिकायो ।  मेरो बाबाले मलाई “हो, तिमिले योभन्दा धेरै राम्रो गर्न सक्थ्यौ, तर यति ल्याउनु पनि कम होइन”भनेर स्याबासी दिनुहुँदा म भित्र पलाउँदै गरेको नकारात्मक सोंच र निरासा हराउँदै गयो ।

परिक्षाको नतिजाका कारण पैदा हुने मनोभावले विद्यार्थीहरूलाई धेरै असर गर्ने गरेको पाइन्छ । विद्यार्थीहरूलाई परिक्षाबाट प्राप्त नतिजाप्रति आफूलाई कस्तो लाग्छ भन्नेभन्दा पनि त्यसबारे अरुले के भन्छन् भन्ने डरले बढी सताएको पाइन्छ । परिक्षाको नतिजालाई आधार बनाएर विद्यार्थीहरूको समग्र दक्षतामाथि नै प्रश्न उठाउने गरिन्छ, जसको कारण कतिपय विद्यार्थी आत्मविश्वास गुमाउन पुग्छन् । यदि परिवारका सदस्यहरूले नै परिक्षाको परिणाम, विशेष गरी नतिजा प्रतिशतलाई लिएर गलत टीकाटिप्पणी गरेभने यसको दुरगामी नकारात्मक असर पर्न जान्छ । मेरा एक मित्रका अनुसार उनको छिमेकका एकजनाले केही वर्षअघि एसएलसीको परिणाम आएको दिन छोरालाई बेस्सरी कुटेछन् । कुट्नुका कारण पनि अनौठो थियोः उनका छोराले एसएलसीमा ८३ प्रतिशत ल्याएका थिए, तर छोराको छिमेककै आफूसँग पढ्ने साथीकोभन्दा १ प्रतिशत कम आएछ । बाबुलाई छोराले कति प्रतिशत ल्यायो भन्ने कुराको मतलब थिएन, उसले आफ्नो साथीकोभन्दा कम ल्याएको भनेर कुटेका रहेछन् । त्यही कारण उनका छोराले १२ कक्षा उत्तीर्ण गर्नै सकेन । हाम्रो समाजमा यस्ता घटना यत्रतत्र पाइन्छन् । गतवर्ष एसईईको परिक्षामा असफल भएको मानेर केहीले त आत्महत्यासमेत गरेको समाचार सार्वजनिक भएको थियो । यस्ताखाले नकारात्मक प्रतिक्रियाले विद्यार्थीहरूको मनोविज्ञानमा अत्यन्तै नकारात्मक असर पार्ने गरेको छ । 

केही दिनअघि एसईई परिक्षाको नतिजा प्रकाशन भएलगत्तै सामाजिक सञ्जालमा जनस्वास्थ्य क्षेत्रका एक गन्नेमान्ने व्यक्तिको पोस्ट पढेर मन प्रफुल्लित भएको थियो । कति राम्रो तरिकाले उहाँले लेख्नु भएको थियो, “कुनै पनि व्यक्तिको दक्षतालाई परिक्षाको नतिजामा प्रस्तुत अङ्कसँग मात्र दाँजेर हेर्न मिल्दैन । अङ्क त प्राविधिक कुरा मात्रै हो । कति अङ्क प्राप्त हुने हो भन्ने कुरालाई विभिन्न कुराले प्रभाव पार्दछ । व्यक्तिको सफलता त उसको इच्छाशक्ति, मेहनत र लगनशीलतासँग जोडिएको हुन्छ ।” सम्पूर्ण अभिभावकले यो कुरा बुझ्नु जरुरी छ । विद्यार्थीहरूले पनि यसलाई मनन गर्नुपर्छ । ‘मार्कसिटलाई नै विद्यार्थीको क्षमताको मूल सूचक बनाउनु हुँदैन र कागजको टुक्राले मात्रै कसैको भविष्य निर्धारण गर्ने पनि होइन’। दक्षताका हिसाबले अब्बल दर्जाका विद्यार्थीले पनि परिक्षाको समय स्वास्थ्य वा अन्य समस्याका कारण कम अङ्क वा कम ग्रेड पाउन सक्छ । यसको अर्थ उ पूर्ण रुपमा असक्षम छ भन्न मिल्दैन । तर, यसको अर्थ परिक्षामा पाइने अङ्क वा ग्रेडको केही अर्थ छैन भन्ने पनि होइन । कतिपय विद्यार्थीले आफ्नो कमजोरीलाई लुकाउन ‘मार्कसिट केही पनि होइन’भन्ने कुरालाई आधार बनाउने गरेका पनि छन् । महत्वपूर्ण कुरा चाहिँ कसले कति अङ्क वा ग्रेड प्राप्त गरेको छ भन्दा पनि उसले कति सिकेको छ र कति जानेको छ भन्ने हो । मेहनत गर्दागर्दै राम्रो ग्रेड आउन सकेन भने पनि यसबाट दुःखी नभई आगामी दिनमा अझै धेरै मेहनत गर्ने, धेरै सिक्ने, धेरै जान्ने र आफ्नो दक्षतालाई मजबुत रुपमा प्रस्तुत गरी राम्रो नतिजा ल्याउने कुरामा प्रतिवद्ध हुनुपर्छ । 

सेन्ट जेभियर्स कलेजमा ‘प्लस टु’अध्ययन गर्ने क्रममा त्यहाँका फादरले सिकाउनु भएका नैतिकताका कुराहरु अझै मेरो स्मरणमा छन् । हरेक साता हुने एसेम्ब्लीमा हामीलाई नैतिक मूल्य र मान्यताका कुराहरू सिकाइन्थ्यो । हप्तामा एकदिन नैतिक शिक्षाको कक्षा नै सञ्चालन हुन्थ्यो, जहाँ हामीलाई ‘असल र सफल व्यक्ति कसरी बन्ने र समाज परिवर्तनका लागि कसरी योगदान गर्ने’भनेर विभिन्न किसिमका प्रेरणादायी कुराहरू सुनाइन्थ्यो । सफल र असल व्यक्तिका कथा समेटिएका भिडियोहरू देखाइन्थ्यो । मलाई सँधै एसेम्ब्ली कहिले होला र फादरको स्पिच सुन्न पाइएला भन्ने लाग्थ्यो । हरेक हप्ता नयाँ र सकारात्मकताले भरिएका कुराहरू सुन्न पाइन्थ्यो । सकारात्मक ऊर्जाले भरिएको उहाँका स्पीचहरूले म मात्र हैन त्यहाँ उपस्थित सबै विद्यार्थी मन्त्रमुग्ध हुन्थे । फादर सँधै भन्ने गर्नुहुन्थ्यो, “कडा मेहनतको विकल्प हुँदैन, त्यसले नतिजा पक्कै राम्रो दिन्छ ।” त्यस्ता प्रेरणादायी विषय विद्यालयमा निरन्तर रुपमा सिकाइनुपर्छ, किनकि विद्यालयले आफ्ना विद्यार्थीहरूलाई पाठ्यक्रममा होइन जिन्दगीका हरेक परिक्षामा उत्तीर्ण हुने गरी तयार पार्नुपर्छ ।

यसपालीको एसईई नतिजा पश्चात् फेसबुकको भित्तामा विगतका भन्दा अलिक फरक किसिमका पोस्टहरू पनि देखिए । एसईई उत्तीर्ण विद्यार्थीलाई गिज्याउने खालका पोस्टहरू पनि थुप्रै थिए । एउटाले लेखेको थियो, “अब त ‘ए प्लस’ आएका विद्यार्थी ले ‘cyance’र ‘ए’आएका विद्यार्थीले ‘mejar inglis’विषय मात्रै पढ्ने त होला नी”! साइन्स र मेजर इङ्लीसको स्पेलिङ नै सही तरिकाले लेख्न नसक्नेहरूका यस्तो नकारात्मक टिप्पणीले विद्यार्थीहरूको मनमा नकारात्मकता थोपर्ने बाहेक अरु केही गर्दैन । 

खराब उद्देश्यले मात्रै सामाजिक सञ्जालको प्रयोग पनि हुँदैन । केहीले यसलाई अत्यन्तै उपयोगी तरिकाले पनि प्रयोग गरेका छन् । पहिले-पहिले सामाजिक सञ्जालमा विद्यालयहरूले ‘टपरहरूको मात्रै फोटो राखेर आफ्नो विद्यालयको विज्ञापन गर्थे । यसपाली भने धेरै विद्यालयले एसईई दिएका सबै विद्यार्थीको तस्विर राखेर, कसले कुन ग्रेड ल्यायो नभनी सबैलाई बधाई ज्ञापन गरेको भेटियो । ती विद्यालयहरूको यस्तो कार्यको प्रशंसा गर्नुपर्छ । कति आमाबुबाले छोरा वा छोरीले उत्तीर्ण गरेको भन्दै पोस्ट गरेका थिए । कतिले भविष्यमा अझै राम्रो गर्न शुभकामना दिएका थिए । यस्ता हौसलाले भरिएका भावहरू अत्यन्तै आवश्यक हुन्छ किशोरकिशारीहरूका लागि र यसले उनीहरूमा थप ऊर्जा पैदा हुन्छ आगामी दिनहरुमा अझै राम्रो गर्न । 

किशोरकिशोरी सुन्दर समाज निर्माणका आधार हुन् । समाजको सकारात्मक विकासमा शिक्षा प्रणालीको महत्वपूर्ण योगदान हुन्छ । किशोरीकिशोरीको प्रगतिका लागि तिनका अभिभावक, छिमेक, मित्रहरू लगायत सबैको साथ चाहिन्छ । तसर्थ, सबैले उनीहरूलाई सफल र असल व्यक्तित्व बन्न हौसला र प्रेरणा दिनु जरुरी छ । अभिभावकहरूले आफूले पुरा गर्न नसकेको सपना छोराछोरीको काँधमा थुपार्नु हुँदैन । उनीहरूलाई आफ्नो चाहना र क्षमताअनुसार भविष्यको लागि सपना देख्ने अवसर दिनुपर्छ । उनीहरूलाई इच्छा भएको विषय पढ्न दिनुपर्छ । किशोकिशोरीले पनि अभिभावकका साथै अग्रजहरूको कुरा सुन्नुपर्छ, उनीहरूको अनुभवबाट सिक्नुपर्छ र अग्रजहरूले परिवार, समाज र देशको लागि दिएको योगदानको कदर गर्नुपर्छ ।  

अन्त्यमा, यसै लेखमार्फत मेरा अभिभावकहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको निरन्तर हौसला र प्रेरणाको लागि म कृतज्ञ छु । परिक्षामा धेरै अङ्क प्राप्त गर्न नसके तापनि यहाँहरूले दिनुभएको हौसला र साथ, अनि परिक्षाको नतिजा आएको बेला दिएको स्याबासीले नै म आज सक्षम नागरिक बन्न सकेको छु । मेरा अभिभावकले सँधै भन्नुहुने ‘हरेक कुरा हाम्रो आफ्नो बसमा हुँदैन, हामीले मेहनत गर्ने कुरामा कमी ल्याउनु हुँदैन, परिक्षाको नतिजामा भन्दा परिश्रममा बढी ध्यान दिनुपर्छ, यसैले नै हामीलाई सफल र सक्षम बनाउँछ’कुराहरू मेरो मानसपटलमा अझै ताजा छन् । जिन्दगीको परिक्षामा कहिले पनि उहाँहरूलाई निराश नबनाउने प्रण गर्दछु । यो लेख मेरा अभिभावक जस्तै आफ्ना छोराछोरीलाई सँधै प्रेरणा दिने अभिभावकहरूप्रति समर्पित गर्न चाहन्छु । 

लेखक हाल काठमाडौं मेडिकल कलेजमा अनुसन्धान सहयोगीको रुपमा कार्यरत हुनुहुन्छ

दुर्गा रिजाल
+ posts

1 COMMENT

  1. कुरा सही हो । यो विल्ला भनेको सबैले नबुझ्लान नी

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री
%d bloggers like this: