spot_img

नर्स बन्ने चाहना

मेरो नाम योगिता नगरकोटी हो र म इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ को खड्बुको पौवामा बस्छु । म अहिले १४ वर्षकी भएँ र श्रीमहाचुनी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन गर्दैछु । मेरो परिवारमा बुबा, आमा, दिदी, भाइ र म गरी जम्मा ५ जना छौँ । मेरो बुबाको मुख्य पेशा खेतीपाती हो र उहाँ सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्छ । आमा खेतीपातीका साथै घरपरिवारको व्यवस्थापन गर्नु हुन्छ भने दिदीले कक्षा १२ उत्तीर्ण गरी अहिले घरमै हुनुहुन्छ । भाइ र म विद्यालयमा अध्ययन गर्दैछौँ ।

मलाई सानैदेखि स्वास्थ्यकर्मी बनेर समाज सेवा गर्ने प्रबल इच्छा थियो । मेरो बाबा सामाजिक कार्यमा लाग्नु भएको मलाई धेरै मन परेको छ र म पनि बाबाको कामबाट प्रभावित भएर नर्स बनी समाजको सेवा गर्न चाहन्छु । आठ कक्षामा हुँदा मैले इटलीको फ्लोरेन्स नाइटिङ्गलबारे पढ्ने मौका पाएको थिएँ । धनी परिवारमा जन्मेकी नाईटिङ्गेलले गरिब गुरुवाहरूको सेवाको लागि आफ्नो सम्पूर्ण जीवन नै अर्पिन् । त्यो कथा पढेर मलाई पनि नर्स बनेर उनले जस्तै सेवा गर्ने इच्छा जागेको हो । नर्स पेसाबारे मैले मेरो विद्यालयका शिक्षकहरूबाट जान्ने अवसर पाएँ । यो पेसाको उद्देश्य स्वास्थ्यमा समस्या परी रोग लागेका स्वस्थ बनाउन सहयोग गर्नु हो । साथै, बिरामी भएको बेलामा उनी शारीरिक तथा मानसिक समस्यामा परेका हुन्छन् । यस्तो बेला उनीहरुलाई हौसला दिनु पर्दछ । यस्तो अवस्थामा नर्सहरुले नै उनीहरुलाई सहयोग गर्दछन् र समस्याबाट मुक्ति दिलाउन मदत गर्दछन् । त्यसैले नर्स पेसा अत्यन्तै महत्वपूर्ण पेसा हो भन्ने लाग्दछ ।

इन्द्रसरोवर गाउँपालिकाको खड्बु भेग शिक्षा तथा स्वास्थ्यका हिसाबले अझै पछाडि परेको छ । यहाँ सडक र सञ्चारको राम्रो सुविधा छैन । यदि कोही बिरामी पर्यो भने उपचारको लागि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता छ । यहाँ सडक त छ, तर सडकको अवस्था राम्रो नभएको हुँदा काठमाडौँ पुग्न धेरै समय लाग्छ । गाउँमा स्वास्थ्यचौकी पनि छ, तर यहाँ साना रोगहरूको मात्र उपचारको व्यवस्था छ । ठूलो रोग लागेमा काठमाडौँ पुग्नुपर्ने हुन्छ । आर्थिक अभावका कारण यहाँका धेरै मानिसहरू उपचारको लागि काठमाडौँ जान सक्दैनन् । यसै कारण धेरैले रोग बोकेर बस्नुपर्ने स्थिति छ भने कतिले त यसै कारण ज्यानै गुमाउन पनि बाध्य भएका छन् । यहाँका धेरै महिलाहरूले त सामान्य रोग लाग्दा पनि धेरै दुःख पाउने गरेका छन् । गर्भवती महिलाहरूले बच्चा जन्माउने क्रममा केही समस्या देखियो भने काठमाडौँ पुग्नुपर्ने हुन्छ । यसले उनीहरूको ज्यान जोखिममा पार्न सक्छ । त्यसैले पनि मलाई नर्स बनेर मेरो गाउँका मानिसहरूको सेवा गर्ने चाहना छ ।

हाल म कक्षा ९ मा अध्ययनरत छु । श्रीमहाचुनी माध्यामिक विद्यालयबाट एस्.ई.ई.पास गरेपछि काठमाडौँ गएर ११ र १२ कक्षामा विज्ञान विषय लिएर अध्ययन गर्ने विचार गरेकी छु । त्यसपछि स्नातक तहमा भने नर्सिङ विषय लिएर अध्ययन गर्नेछु । मेरो इच्छाबारे मैले मेरो बुबासँग पनि कुरा गरिसकेकी छु । मेरो बुबाको नाम आकास नगरकोटी हो । बुबाले मलाई अध्ययनको लागि सहयोग गर्ने वाचा गर्नु भएको छ । मेरो दिदी र आमा अनि भाइले पनि मलाई सहयोग गर्नेछन् भन्ने विश्वास लिएकी छु ।

नर्स बनेर मेरो आफ्नो गाउँबाहेक नेपालका विभिन्न ग्रामीण क्षेत्रमा गएर त्यहाँका बासिन्दाहरूलाई सेवा गर्ने इच्छा छ । गाउँका मानिसहरूलाई तालिम मार्फत् स्वास्थ्यसम्बन्धी चेतना जगाउने चाहना छ । गाउँघरमा चेतनाको कमीले रोगहरूलाई सामान्य रुपमा लिन्छन्, पछि गएर त्यो रोग घातक पनि हुन सक्छ भन्नेबारे कुरा बुझाउने बिचार छ । कति रोगहरूको उपचारको लागि शहर पुग्नुपर्ने स्थिति छ, त्यसैले ग्रामीण क्षेत्रमा नै ती रोगहरूको उपचार हुनसक्ने व्यवस्था मिलाउने चाहना छ । म आफू मात्र नभई मेरा साथीहरूलाई पनि यस्तो सेवामूलक काममा संलग्न गराउने इच्छा छ ।

नर्सिङ पेसामा लागेर नै जीवनयापन सहज हुन सक्छ भन्ने लाग्दछ । यसले सेवाका साथै रोजगारी पनि दिनेछ । मेरो विचारमा यो पेसाबाट जीवनयापनका लागि आर्थिक उपार्जन त हुन्छ नै यसबाट मेरो परिवारका सदस्यहरू पनि लाभान्वित हुनेछन् । मैले नर्स बनेर मेरो परिवारको लागि आर्थिक सहयोग पनि गर्न चाहन्छु । म नर्स बन्न सकेँभने मेरो परिवारका सदस्यहरूले घरमै उपचार सेवा पाउने छन् । त्यसबाहेक मेरो समुदायमा पनि कोही बिरामी पर्दा उपचारको लागि सहयोग मिल्नेछ । मेरो गाउँमा अहिलेसम्म नर्स कोही पनि छैनन् । त्यसैले यदि म नर्स बन्न सकेँ भने मेरो गाउँ र गाउँबासीहरुले पनि सम्मान पाउने छन् भन्ने लाग्दछ ।

मैले सुनेको नर्स बन्नको लागि धेरै मेहनत गर्नुपर्छ । धेरै अध्ययन गर्नुपर्छ । म मेहनत गर्नको लागि तयार छु । नर्स बनेर मानिसहरूको सेवा गर्नुका साथै मेरो परिवारको नाम उच्च राख्नेछु । मलाई जन्म दिने मेरा बुबाआमाहरूको सम्मानको लागि पनि म नर्स बन्नेछु ।

लेखक योगिता नगरकोटी मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका, खड्बुस्थित श्रीमहाचुनी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्

योगिता नगरकोटी
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री
%d bloggers like this: