spot_img

दिगो स्वास्थ्य र समृद्धिका लागि जडीबुटीको सही प्रयोग

पृष्ठभूमि

हामी सबैमा स्वस्थ, निरोगी रहेर लामो समयसम्म सुखपूर्वक बाँच्ने चाहना हुन्छ । आफ्नो र समाजको सुख र हित हुने काम गर्न पहिले हाम्रो जीवन नै स्वस्थ हुनुपर्छ । त्यसैले हामी आफ्नो स्वास्थ्यप्रति सधैँ सचेत र संवेदनशील हुनुपर्छ । यसका निम्ति स्वस्थकर जीवनशैली अपनाउनुपर्छ र प्राकृतिक स्रोत–साधनको उपयोग बुद्धिमानीपूर्वक गर्नुपर्छ । यदि रोग लागेमा त्यसको समयमै सही उपचार गरी पुनः स्वस्थ हुन मदत गर्ने सही औषधीको प्रयोग गर्नुपर्छ । स्वस्थकर जीवनशैली अपनाउनुका साथै औषधीको सही प्रयोग गर्दा निम्न फाइदा हुन्छन्ः

  • स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्न, रोगको रोकथाम गर्न वा रोग लाग्नबाट बच्न–बचाउन, रोग लागेमा उपचार गर्न र आफै सन्चो हुने रोगलाई पनि छिटो गराउन सकिन्छ ।
  • रोग बढ्न नदिएर निको पारी पुनः स्वस्थ हुन, रोग पत्ता लगाउन र साध्य अर्थात उपचार गर्दा ठीक हुने रोगका कारण हुन सक्ने अकाल मृत्युबाट बच्न–बचाउन सकिन्छ ।

स्वस्थ जीवन, पर्यावरण जडीबुटीको सम्बन्ध

हाम्रो वरपर स्वस्थ जीवन बाँच्नका लागि प्रकृतिले दिएका अति उपयोगी जडीबुटीको भण्डार छ । हाम्रा अग्रजहरूले तिनको सदुपयोग गर्ने ज्ञानको भण्डार आयुर्वेद हामीलाई दिएर गएका छन् । यी वनस्पतिका हाँगाबिँगा, छायाँ, गन्ध, पात, फूल, फल, बोक्रा, काठ, जरा आदिद्वारा मानिस, पशुपक्षी लगायत सबै प्राणीका आवश्यकता पूरा हुँदै आएका छन् । वनस्पतिले पृथ्वी, वायुमण्डल र सूर्यबाट प्राणरस लिन्छन् र वनस्पतिकै माध्यमबाट प्राणरस प्राप्त गरेर हामीले बाच्छौँ । यिनले वायुमण्डलबाट कार्बन–डाइअक्साइड लिएर अक्सिजन छोडेकैले हामी बाँच्न नभैनहुने प्राणवायु वायुमण्डलमा निरन्तर पाइएको छ । वनस्पतिबिना मानिस र अन्य प्राणीहरूको गाँस, बास र कपास अर्थात् खाद्यान्न, फलफूल, घाँस–पात, काठ–दाउरा, कपास/रेसा आदि तथा अमूल्य जडीबुटी, जङ्गली पशुपक्षी, कीट–पतङ्ग आदिको प्राकृतिक वासस्थान सम्भव छैन । बाढी पहिरो रोक्न, पानीको मूल, खोला, नाला सुक्न नदिन, समयमा वर्षा हुन, वातावरणीय सन्तुलन कायम राख्न, स्वस्थ शीतल हरियालीपूर्ण वातावरण बनाउन पनि वनस्पति निर्विकल्प छन् । सबै प्राणीका निम्ति प्राणवायु, आहार, औषधी जडीबुटी लगायतका सम्पूर्ण उपभोग्य वस्तुहरूको स्रोतका रूपमा रहेका वनस्पति मानिसको लागि जन्मदेखि मृत्युपर्यन्त र मरणोपरान्त गरिने संस्कारहरूमा पनि आवश्यक पर्छन् ।

जडीबुटीको महत्व

जडीबुटीहरू आफै हिँडडुल गर्न सक्दैनन् तर सर्वत्र उपस्थित छन् । बोल्न सक्दैनन्, जड छन् तर सदाशयी छन् । आफ्ना हाँगाबिँगा, छायाँ, गन्ध, पात, फूल, फल, बोक्रा, काठ, जरा, दूध–चोप, काँडा, अङ्गार, खरानी आदिद्वारा मानव, पशुपक्षी लगायत सबैको कामना सधैँ पूरा गर्दै आएका छन् । नाशवान् भएर पनि सधैँ अस्तित्ववान् वृक्ष–वनस्पतिले हामीलाई हानी नोक्सानी पुर्याउँदैनन् । यस्ता परोपकारी वनस्पतिलाई काट्नु, मास्नु अपराध मानिन्छ । परिस्थितिवश जीवन रक्षाको लागि अत्यावश्यक भएमा उपयोगी भाग मात्र लिनुपर्छ । वृक्ष–वनस्पतिको विनाशले धरती नरकसमान हुन्छ भने यिनको संरक्षण, संवद्र्धन एवं सदुपयोग गर्नाले यहाँको परिस्थिति वर्तमान र भविष्यका लागि पनि अनुकूल बन्छ, सबैको भलो–कल्याण हुन्छ, समकालीन एवं भावपुस्ताले पनि गुणगान गाउँछन् र त्यस्तो सत्कर्मद्वारा अमर बन्न सकिन्छ ।

हाम्रा लागि जडीबुटीहरू औषधीका रूपमा मात्र नभै निम्न दृष्टिले पनि अत्यावश्यक र महत्वपूर्ण छन्ः

  • हामीलाई बाँच्नका लागि नभै नहुने अन्न, फलफूल, कन्दमूल, सागपात, मसला, तेल, मह, पौष्टिक खाद्य पदार्थ, कपास, रेशम आदि लगाउने कपडा, रबर जस्ता आधारभूत आवश्यकताका स्रोतका रूपमा ।
  • काठ दाउरा, कपडा आदिको दिगो स्वस्थकर र पुनर्नवीकरणीय प्राकृतिक स्रोतका रूपमा ।
  • औषधोपयोगी अमूल्य जडीबुटी, जङ्गली पशुपक्षी, कीटाणु आदिको प्राकृतिक वासस्थानको रूपमा ।
  • दूध, दही, घिउ, मासु, अण्डा आदिको स्रोत घरपालुवा पशुपक्षीहरूका लागि आवश्यक घाँसपात वा खाद्य तथा जङ्गली पशुपक्षी, मौरी, कीटाणु आदिको आहार र प्राकृतिक वासस्थानको रूपमा ।
  • बाढी पहिरो, भू–स्खलन रोक्न, पानीको मूल, खोला नाला सुक्न नदिन, जलचरको विनाश रोक्न ।
  • समयमा वर्षा हुन, अम्लीय वर्षा हुन नदिन, ओजोन तहको रक्षा गर्न र वातावरणीय सन्तुलन कायम राख्न ।
  • वातावरणलाई स्वस्थ, शीतल, हरियालीपूर्ण एवं मनोरम बनाउन ।

दिगो स्वास्थ्य समृद्धिको आधार

नेपालको क्षेत्रफल विश्व भूभागको करिब ०.१ प्रतिशत भए पनि यहाँ समुद्र सतहदेखि विश्वकै सर्वोच्च शिखरसम्मको भौगोलिक विविधतायुक्त उचाई र हावापानी छ । जैविक विविधताका दृष्टिले विश्वमा नेपालको योगदान २.९७ प्रतिशत छ, जुन विश्वमा २५औं तथा एसियामा ११औं स्थानमा रहेको छ । अन्यत्र नपाइने २६४ प्रकारका जडीबुटीका प्रजातिहरू तथा कैयन् जीवजन्तुहरू नेपालमा पाइन्छन् । यहाँ पाइने ७,००० भन्दा धेरै प्रजातिका वनस्पतिमध्ये हालसम्मको अध्ययनबाट १,६०० भन्दा बढी प्रजाति औषधोपयोगी जडीबुटीहरू रहेको पाइएको छ ।

हामीले औषधी तथा आहारको रूपमा प्रयोग गर्ने द्रव्य प्राणी, वनस्पति र खनिज धातु गरी मुख्यतः तीन किसिमका स्रोतबाट प्राप्त हुन्छन् । तीमध्ये वनस्पतिजन्य जडीबुटीहरूको महत्व सर्वाधिक छ । प्राकृतिक जडीबुटीजन्य औषधी र उपभोग्य वस्तु मानव स्वास्थ्यका लागि बढी हितकर हुने तथ्य आधुनिक वैज्ञानिक अनुसन्धानबाट पनि पुष्टि भएको छ । अचेल विश्वमै विभिन्न खाद्य, पेय, औषधी, सुगन्धित पदार्थ, प्रसाधनका वस्तु, रङरोगन आदिमा जडीबुटीजन्य “हर्बल” उत्पादनहरूको महत्व, माग र प्रयोग प्रतिदिन बढ्दो छ । नेपालको स्वच्छ हिमाली प्राकृतिक वातावरणमा हुर्केबढेका “हिमालयन हर्ब” संसारमै उत्कृष्ट मानिन्छन् ।

जडीबुटीको विकास सदुपयोगबाट हुने लाभहरू

हाम्रा अधिकांश पालिकामा भौतिक, प्राविधिक एवं अन्य पूर्वाधार जुटाई एकीकृत रूपमा व्यावसायिक खेती, पशुपक्षीपालन, मौरीपालन आदि गर्न र स्थानीयस्तरमै प्रारम्भिक प्रशोधन एवं बजार व्यवस्थापन गरी स्थानीय जनसमुदायलाई उद्योग व्यवसायमा लगाउन, स्थानीयस्तरमा रोजगार सिर्जना र आयआर्जन गर्न सकिन्छ ।

  • दुर्गम भेगका वासिन्दाहरूका लागि स्थानीयस्तरमा नै स्थायी एवं भरपर्दो पेशा र आयश्रोतको अवसर उपलब्ध हुन्छ ।
  • साधारण रोगव्याधिको सरल औषधी उपचार र खाद्यवस्तुहरू सुलभ भई स्वास्थ्य राम्रो हुन्छ ।
  • जडीबुटीसम्बन्धी व्यवसाय, उद्योगधन्दाबाट प्रायः सबै स्थानका मानिसहरूका लागि रोजगारी उपलब्ध हुन्छ ।
  • स्वदेशमै सुरक्षित र प्रभावकारी औषधी उत्पादन बढ्न गई औषधीमाथिको परनिर्भरता घट्दै जान्छ ।
  • औषधी एवं अन्य उत्पादनहरूको निर्यातबाट विदेशी मुद्रा आर्जन हुन्छ ।
  • देश र जनताको शारीरिक र मानसिक स्वास्थ्यसँगै आर्थिक, सामाजिक, सांस्कृतिक समग्र स्थितिमा दिगो सुधार ल्याउन र स्वाभिमान एवं आत्मसम्मानपूर्वक सुरक्षित भविष्य सुनिश्चित गर्न सघाउ पुग्छ ।

जडीबुटीजन्य सुरक्षित, प्रभावकारी सुलभ औषधी

औषधी प्रभावकारी, सुरक्षित (खराब असर नगर्ने), प्रयोग गर्न सजिलो र यथाशक्य रुचिकर हुनुपर्छ । एउटै रोग वा समस्यामा उपयोगी जडीबुटीहरू धेरै छन् । तीमध्ये राम्ररी चिने–जानेको, सजिलोसँग पाइने, सजिलै औषधी बनाएर प्रयोग गर्न सकिने र सम्बन्धित व्यक्तिलाई अनुकूल हुने जडीबुटी छानेर प्रयोग गर्नुपर्छ । औषधीको के–कस्तो कल्प बनाउने भन्ने कुरा जडीबुटी वा कच्चा पदार्थको प्रकृति र अवस्था, रोगको प्रकृति र अवस्था, रोगीको उमेर, अवस्था, प्रकृति र रुचि, औषधी प्रयोग गर्ने ऋतु र समय आदिमा भरपर्छ ।

राम्ररी चिनेर गुण, कर्म, संंयोग, प्रयोग, मात्रा, काल आदिका बारेमा जानेर सही प्रयोग गर्दा अमृतसरह जीवनदायक हुने प्रकृतिप्रदत्त जडीबुटी औषधीहरू नजानी नचिनी प्रयोग वा दुरूपयोग गर्दा विष जस्तै अहित गर्ने वा प्राणघातक हुन सक्छन् । अतः स्वस्थ रहने र रोग लाग्ने कारणहरूको राम्रो ज्ञान गरेर सधैँ रोगबाट बच्न र स्वस्थ रहने उपायहरू अपनाउनुपर्छ र रोग लागेमा यथाशक्य चाँडो निदान गरी उचित औषधी–उपचार गर्नु–गराउनुपर्छ । उपचार गर्दा औषधीहरूको प्रयोगसँगै स्वस्थकर खानपान र हितकर आचरण व्यवहार वा जीवनशैली पनि अपनाउनुपर्छ ।

घरेलुस्तरमा केही औषधी कल्पहरूको निर्माण प्रयोग

औषधी उपचारका लागि घरेलुस्तरमै पनि स्वरस (Fruit juice), कल्क (Fruit paste), क्वाथ (Decoction), क्षीरपाक (Milk decoction), शीत वा हिम (Cold infusion), फाण्ट (Hot infusion), चूर्ण (Powder) र स्नेह घृत–तैल (Medicated oil and ghee) जस्ता जडीबुटीजन्य औषधी–कल्पहरू बनाउने र प्रयोग गर्ने तरिकाको सही जानकारी र सीप हासिल गरी घरेलुस्तरमै बनाउन सकिन्छ । औषधी बनाउँदा द्रव्यको सही र गुणसम्पन्न भाग लिनुपर्छ । जडीबुटी तथा औषधी छुने–समात्ने, बनाउने, राख्ने, चलाउने, खाने हात, भाँडाकुँडा सबै स्वच्छ र सफा हुनुपर्छ । विधिपूर्वक राम्रोसँग संस्कारहरू गरी दोष हटाएर वा घटाएर औषधीलाई थप गुणवान्, प्रभावकारी र सात्म्य बनाउनुपर्छ । यी औषधीहरू को प्रयोग गर्दा औषधीको प्रकार, रोग र रोगीको बल, उमेर, अवस्था आदि अनुसार मात्रा धेरै–थोरै हुनसक्ने हुँदा स्वास्थ्यकर्मी वा जान्ने, अनुभवी व्यक्तिको सल्लाह लिएर प्रयोग गर्नुपर्छ ।

संवर्द्धनयोग्य केही जडीबुटीहरू

हामीले आफ्नो प्रयोगका लागि र व्यावसायिक उद्देश्यले पनि हाम्रो वरपर सडक किनार, नदी खोला किनार, निजी एवं सामुदायिक वन, सार्वजनिक स्थल, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाहरू, करेसाबारी, भित्रीबारी, छत, आँगन, गमला आदिमा यी बहुउपयोगी जडीबुटीहरू लगाएर हरेक दृष्टिले लाभ लिन सकिन्छ, जस्तैः

  • तुलसी, घोडटाप्रे, बोझो, पतना, पुनर्नवा, दूबो, घिउकुमारी, पाखनभेद आदि जस्ता कतिपय रोगबाट बच्न र साधारण रोगहरूको घरेलुस्तरमा सरल उपचार गरी सुस्वास्थ्य कायम राख्न उपयोगी जडीबुटीहरू हाम्रा भित्रीबारी, आँगन, छत वा गमलामा लगाउन सकिन्छ ।
  • लसुन, प्याज, हलेदो, अदुवा, धनियाँ, सुँप, ज्वानो, मेथी, बेथे, परबल, करेला जस्ता तरकारी, मसला एवं औषधीमा उपयोगी जडीबुटीहरू मौसमअनुसार तरकारीसँगै लगाउन सकिन्छ ।
  • औषधीका साथै काठ–दाउरा, घाँस–पात र बाढी पहिरो रोक्न पनि उपयोगी हर्रो, बर्रो, अमला, नीम, इमली, कोइरालो, सिप्लीकान, वर, पीपल, राजवृक्ष, जामुनो, शिरीष, डुम्री, बकाइनो, सिमल, तेजपात, रुद्राक्ष, सल्ला, सिसौ, शाल आदि वनस्पतिहरू हावापानी, माटो आदिको अनुकूलता हेरी निजी वन, सामुदायिक वन, नदीखोला, सडकको किनारमा तथा सार्वजनिक स्थानहरूमा लगाउन सकिन्छ ।
  • दाडिम, मेवा, अमला, कागती, सुन्तला, आँप, केरा, अम्बा, काफल, कोइरालो, नरिबल, उखु, भुईकटहर आदि औषधी र पथ्य–आहारका रूपमा समेत उपयोगी फलफूलहरू अनुकूलता हेरी भित्रीबारी वा बगैंचामा लगाउन सकिन्छ ।
  • गुर्जो, असुरो, अडेर, पिप्ला, मरिच, धतुरो, चुत्रो, कण्टकारी, कुरिलो, टिमुर, बेल, मैनकाँडा, सिउँडी, टाप्रे, आँक, सिमाली जस्ता विभिन्न रोगको उपचारमा उपयोगी जडीबुटीहरू बारीका छेउ–छाउ, डिल, कान्ला, र बार तथा खाली जमीनमा लगाउन सकिन्छ ।

निष्कर्ष

हाम्रो वरपर स्वस्थ जीवन बाँच्नका लागि प्रकृतिले दिएका, युगौँदेखि रहेका र भविष्यमा पनि रहिरहने जडीबुटी लगायतका सम्पदाहरू पर्याप्त छन् । यहाँ तिनको गुण–कर्म र दिगो उपयोगसम्बन्धी विश्वकै प्राचीनतम ज्ञानको भण्डार आयुर्वेद र हजारौँ वर्षदेखिको मौलिक परम्परागत अनुभव पनि छन् । त्यस्तै, जडीबुटीहरू सागपात, तरकारी, फलफूल, मसला, विभिन्न खानपान, मञ्जन, लेप, पूजाआजाका सामग्री, औषधी लगायत विविध रूपमा प्रयोग हुँदै आएका छन् ।

यी जडीबुटी राम्रोसँग चिनेर र त्यसका गुण, कर्म, संंयोग, प्रयोग, मात्रा, काल आदि जानेर सही जडीबुटीबाट विधिपूर्वक औषधी बनाई सही प्रयोग गर्दा अमृत जस्तै जीवनदायक हुन्छन् भने नजानी, जथाभावी प्रयोग अर्थात् दुरूपयोग गर्दा विष जस्तै अहितकर वा प्राणघातक हुन सक्छन् । त्यसैले रोग, रोगी र औषधी बनाउने र प्रयोग गर्ने तरिका, मात्रा, समय आदिबारे यथेष्ट ज्ञान वा अभ्यास नभएका कसैले पनि यी जडीबुटी र त्यसबाट बनेका औषधीहरू अन्दाजको भरमा वा आफूखुसी जथाभावी प्रयोग गर्नु हुँदैन । जान्ने अनुभवी मानिससँग वा स्वास्थ्यकर्मीसँग सोधेर सल्लाह दिएअनुसार प्रयोग गर्नुपर्छ । स्वस्थकर खानपान, आचरण व्यवहार वा जीवनशैली पनि अपनाउँदै हाम्रै वरपर पाइने र सजिलै लगाउन, हुर्काउन बढाउन पनि सकिने यी जडीबुटीलाई राम्ररी चिनेजानेर सही तरिकाले प्रयोग गर्दा हामी विभिन्न रोगहरूबाट बच्न, स्वस्थ तन्दुरूस्त रहन र अनेकौँ साधारण रोगहरूको उपचार गर्न पनि सक्छौँ । नयाँ नेपाल बनाउने सङ्कल्प लिएर सामूहिक प्रयासमा सबै जुटिरहेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा र औषधीको सन्दर्भमा पनि संवेदनशील भई आफ्नो स्रोत साधन, सम्पदा एवं ज्ञान, सीप र प्रविधिको सदुपयोग गर्दै मौलिक राष्ट्रिय पहिचानसहित समृद्धि र विकासको दिगो मार्ग रोजौँ ।

लेखक प्रा.डा. श्याममणि अधिकारीले आयुर्वेद (द्रव्यगुण विज्ञान)मा एम.डी. गर्नु भएको छ । उहाँ नेपाल आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष र केन्द्रीय आयुर्वेद विद्यापीठ, ने.सं.वि., दाङमा प्राचार्य हुनुहुन्थ्यो ।

प्रा.डा. श्याममणि अधिकारी
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री
%d bloggers like this: