विक्रम सम्वत २०१७ सालमा स्थापना भएको यस श्री महाचुनी विद्यालय हाल बागमती प्रदेश, मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ स्थित माझडाँडा नामक सुन्दर गाउँमा पर्दछ । स्थानीय अग्रज शिक्षाप्रेमी, समाज सेवी तथा जागरुक अभिभावकहरूको सक्रियतामा विद्यालयको स्थापना भएको कुरा यसै विद्यालयका एक शिक्षक बताउनुहुन्छ । चित्लाङ र मार्खुको सिमानामा रहेको महाचुनी देवीको नामबाट विद्यालयको नाम रहन गएको कुरा यहाँका पाका व्यक्तिहरू बताउँछन् । स–साना बालबालिकाले पढेर आफ्नो भविष्य उज्ज्वल बनाउन् भन्ने उद्देश्यले यस विद्यालयको स्थापना गरिएको थियो । म आफू पनि हाल यसै विद्यालयमा अध्ययनरत विद्यार्थी भएको नाताले आफ्नो विद्यालयको सङ्क्षिप्त परिचय प्रस्तुत गर्नको लागि यो लेख तयार पारेकी छु ।
वि.स. २०५२ सालसम्म यस विद्यालयमा प्राथमिक तहका कक्षाहरू मात्र सञ्चालन गरिएको थियो भने स्थानीय जागरुक अभिभावकहरूको सक्रियतामा आवश्यक प्रक्रिया पूरा गरी वि.स. २०५२ सालबाट कक्षा ६ देखि ८ सम्मका कक्षाहरू सञ्चालन सुरु भयो । त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूको सक्रियतामा वि.स. २०६२ साल बैशाख ६ गतेदेखि कक्षा ९ सम्मको अध्यापन कार्य सुरु भयो । त्यसको एक वर्षपछि वि.स. २०६३ जेष्ठदेखि कक्षा १० सुरु भई त्यसै वर्ष महाचुनी विद्यालयबाट विद्यार्थीहरूले एस.एल.सी. परिक्षा दिन पाउने अवस्था तयार पारियो । वि.स. २०६९ सालबाट कक्षा ११ सञ्चालन प्रारम्भ भयो भने अहिलेसम्म विद्यालयबाट धेरैले कक्षा १२ उत्तीर्ण गरिसकेका छन् ।

हाल यस विद्यालयमा कक्षा १ देखि १० सम्म जम्मा ३२० जना विद्यार्थीहरू अध्ययनरत छन् भने कक्षा ११ र १२ मा लगभग ५० जना पठनपाठनमा व्यस्त छन् । विद्यालयका प्रधानाध्यापकका अनुसार हाल विद्यालयमा १७ जना शिक्षक–शिक्षिका कार्यरत छन् । हाम्रो विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी विषय पढाउने गरिन्छ । विद्यालय मा.वि.स. २०६७ सालदेखि कक्षा १ देखि ४ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गर्ने कार्य सुरु गरिएको थियो । कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई अंग्रेजी, नेपाली, सेरोफेरो, विज्ञान र गणित विषय पढाइन्छ भने कक्षा ४ भन्दा माथिका कक्षाहरूमा नेपाली, अंग्रेजी, विज्ञान, गणित, स्थानीय विषय, अंग्रेजी व्याकरण आदि विषयहरू पढाउने गरिन्छ । श्री महाचुनी मा.वि.मा इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ बाहेक वडा नं. १ को नयाँगाउँ र सिकारी गाउँ, वडा नं. ४ को सल्लेबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् ।
पुरानो भवनमा स्थापना गरिएको विद्यालय भए तापनि अहिले नयाँ भवनहरू निर्माण गरिएका छन् । हालै निर्माण गरिएको दुईवटा भवनमा जम्मा १२ कक्षाकोठा छन् भने पुरानो दुईवटा भवनमा ३–३ वटा कोठाहरू छन् । यसरी यस विद्यालयमा जम्मा १८ वटा कोठाहरू रहेका छन् । हाम्रो विद्यालयमा कम्प्युटर कोठा, ल्याब, पुस्तकालयका लागि छुट्टाछुट्टै कोठाहरूको व्यवस्था गरिएको छ भने विद्यालयमा नै खाजाखानको लागि क्यान्टेन खोलिएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको लागि विद्यालयले नै खाजाको व्यवस्था गरेको छ । तर, विद्यालय परिसरमा खुल्ला स्थानको कमी भएको हुँदा विद्यार्थीहरूलाई पर्याप्त खेल्ने मैदानको व्यवस्था हुन सकेको छैन ।
हाम्रो गाउँमा स्थापना भएको विद्यालयका कारण यहाँका बालबालिकालाई धेरै फाइदा भएको छ । यदि यो विद्यालयको स्थापना नभएको भए पढ्नको लागि टाढा पुग्नुपर्ने हुन्थ्यो । हाम्रो गाउँघरमा अझै पनि छोराहरूलाई चाहिँ पढाउने तर छोरीहरूको पढाइमा त्यति धेरै ध्यान दिने गरिँदैन । त्यसैले यदि यो विद्यालय स्थापना नभएको भए सायद छोराहरूले त बाहिर गएर पढ्न पाउँथे होलान् तर छोरीहरूले पढ्न नपाउने स्थिति हुन सक्थ्यो । सायद विद्यालय नभएको भए म आफू पनि पढ्न पाउने थिइन होला ! त्यसैले पनि मलाई मेरो विद्यालयप्रति गर्व छ । म मेरो विद्यालयको व्यवस्थापन समिति, सम्पूर्ण शिक्षकहरू र विद्यालय स्थापना गर्ने सबै अभिभावकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यदि विद्यालय नभएको भए धेरै केटाहरूले पनि पढ्न पाउँदैन थिए होलान् । शिक्षा प्राप्त गर्न नसक्दा बेरोजगार हुनुपर्ने र आम्दानीको स्रोत नहुँदा उनीहरूको जीवन अन्धकारमै बित्न सक्थ्यो । यसले अभिभावकहरूलाई पनि चिन्ता बढाउँछ । गाउँमै विद्यालयभएको कारण यहाँका बालबालिकाले घरमै बसेर अध्ययन गर्न पाएका छन् । यसले गर्दा उनीहरूले बिहान–साँझ घरको काम पनि गर्न भ्याएका छन् । अभिभावकहरू पनि आफ्ना छोराछोरीहरूलाईसँगै राखेर पढाउन पाउँदा खुसी छन् । यसै कारण यहाँका बालबालिका पढाइबाट वञ्चित हुनु परेको छैन । त्यसैले पनि हाम्रो जीवनमा महाचुनी विद्यालयले धेरै महत्वपूर्ण योगदान गरेको छ । धेरै पढेर हामी हाम्रो विद्यालयको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
लेखक विविशा कार्की श्री महाचुनी विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्





विविशा कार्कीलाइ धेरै बधाइ ।