जलनको पृष्ठभूमि
जलन भनेको के हो भनी सर्वसाधारणलाई सोध्यौं भने, छोटो जवाफ आउँछ; “आगोले पोल्नु वा तातो वस्तुले डाम्नु हो” । तर जलन भन्नाले यति मात्र नभई कुनैपनि तातो झोल पदार्थ, विद्युतीय करेण्ट, घर्षण र रसायनिक पदार्थको सम्पर्कमा आई डढेको, पोलेको वा शरीरका विभिन्न कोष अथवा अंगहरू नष्ट हुनुलाई बुझिन्छ । डढेको, पोलेको वा डामेको जे भने तापनि हाल “जलन” शब्द स्थापित भईसकेको छ र यस शब्दले नै सबै प्रकारको जलनलाई बुझाउँछ ।
धेरैजसो समुदायमा अझै पनि जलनसम्बन्धी बुझाई स्पष्ट छैन । बेलायत स्थित Interburns र सगुन नेपालद्वारा नेपालका तीन जिल्लामा सञ्चालित सहभागितामूलक जलन रोकथाम तथा उपचारसम्बन्धी कार्यगत अनुसन्धान गर्दा यस पंक्तिकारको अनुभव पनि त्यस्तै रह्यो । उक्त अनुसन्धानका क्रममा रसुवा, मकवानपुर र धनुषा जिल्लामा गरेको सर्वेक्षणमा झण्डै ९० प्रतिशत परिवारमा जलनको बारेमा कुनै जानकारी नभएको पाईयो । सोही सर्वेक्षणले देखाएअनुसार स्वास्थ्यचौकीमा ५ देखि २५ वर्षसम्म कार्य गरिसकेका अधिकांश स्वास्थ्यकर्मीहरूमा जलनका कारण, प्रकार तथा रोकथामका लागि ज्ञान र सीपको कमी रहेको भेटियो । ती स्वास्थ्यकर्मीहरूले जलनसम्बन्धी कुनै किसिमको तालिम पाएको भेटिएन ।
जलन एक जनस्वास्थ्यसँग सम्बन्धित सामाजिक समस्या हो । सन् २०१९ को जुन महिनाको तथ्याङ्क अनुसार विश्वमामा चोटपटक भएर मृत्यु हुने घटनाहरूमध्ये सडक दुर्घटना पहिलो, लडेर वा खसेर हुने दोस्रो, कुटपिट तेस्रो र जलन चौँथो स्थानमा पर्दछ । त्यसमध्ये पनि ९० प्रतिशत जलन घटनाहरू हाम्रो जस्तो विकासोन्मूख देशहरूमा हुने गरेको पाइन्छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सन् २०१८ मा विभिन्न कारणले भएका अपाङ्गतामध्ये ५ प्रतिशत जलनका कारण भएको थियो । सोही तथ्याङ्कअनुसार नेपालको ग्रामीण भेगमा हुने अपाङ्गताका कारणहरूमध्ये जलन दोस्रो ठूलो कारणको रुपमा पर्दछ । वर्षेनी नेपालमा करीव २१०० जनाले जलनका कारण अकालमै ज्यान गुमाउँछन् । यति हुँदाहुँदै पनि नेपाल सरकारको स्वास्थ्य सेवाको प्राथमिकतामा जलनसेवा पर्न सकेको छैन । अतः जलन रोकथामका लागि जलन घटनाहरूको पृष्ठभूमि केलाउन जरूरी छ । जलनको कारण, प्रकार र घटनाको प्रकृति हेर्दा ९५ प्रतिशत जलन घटना रोकथाम गर्न सकिने देखिन्छ । रोकथामका लागि जलनलाई जनस्वास्थीय अवधारणाबाट विस्तृत रूपमा अवलोकन गर्न आवश्यक छ । यसका लागि जलनलाई कसरी जनस्वास्थ्यको आँखाबाट बुझ्न सकिन्छ र जलन रोकथाममा जनस्वास्थ्य सेवा कसरी प्रभावकारी हुनसक्छ भन्ने व्याख्या गर्नु नै यस लेखको मूल उद्देश्य हो ।
जलन र जनस्वास्थ्यको परिवेश
जलन जोसुकैलाई जुनसुकै बेलापनि हुनसक्छ । विश्वमा भएका जलनका घटनालाई नियाल्दा जलनबाट महिलाहरु नै सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । दोस्रो बढी प्रभावितमा बालबालिका र वृद्धवृद्धा पर्दछन् । सबैभन्दा बढी जलनका घरमा, त्यसमा पनि भान्छामा र अव्यवस्थित घरायसी वातावरणमा भएको घरमा पाईएको छ । त्यसैले पनि जलनबाट प्रभावित हुनेमा धेरैजसो महिला, बालबालिका र वृद्धवृद्धा पर्दछन् । घरभित्र वा समुदायमा हुने धेरैजसो जलनका घटनाहरू कमजोर भौतिक संरचना भएर हुने गर्दछ । त्यस्तै दैनिक कामकाजमा ध्यान पुर्याउन नसक्दा पनि दुर्घटना भएका छन् । नेपालमा अझै पनि झण्डै २५ प्रतिशत मानिसहरू गरिबीको रेखामूनी छन् भने अधिकांश मानिसहरू गरिबीका कारण कमजोर भौतिक संरचनामा बस्न बाध्य छन्। एकअर्काबिच सम्बन्धका प्रसंगमा आफूले चाहेअनुसार नभएमा एसिड छ्याप्ने, दाईजो नपाएका कारण श्रीमती बुहारीलाई जलाइदिने, बोक्सीको नाममा महिलालाई जलाइदिने, बलात्कार गरी महिला तथा बालिकालाई जलाइदिने तथा विभिन्न घरेलु हिंसामा परेर जलनका घटनाहरूसम्बन्धी समाचार अखबारमा निरन्तर आउने गर्दछन् । तथापि, राजनीतिक तथा अन्य आर्थिक सामाजिक कमजोरीले गर्दा यस्ता घटनाहरूको पर्याप्त अध्ययन भएका छैनन् भने पटकपटक यस्ता घटनाहरू भईनै रहेका छन् । यस्ता नियतवश गराईने घटना नियन्त्रणका विषयमा राज्यले जिम्मेवार भई आवश्यक कदम उठाउन सकेको छैन ।
जलन रोकथाम र जलन भईहालेमा त्यसको समयमै सही उपचार र व्यवस्थापन होस् भन्नाका लागि जलन समस्यालाई जनस्वास्थ्यको अवधारणाबाट व्याख्या गरौं न त । त्यसका लागि सर्वप्रथम त जनस्वास्थ्यको अवधारणा बुझ्नु पर्नेहुन्छ ।
जनस्वास्थ्य अवधारणाको परिचय
जनस्वास्थ्य भन्नाले जनतालाई स्वस्थ राख्न र कुनैपनि जोखिमबाट बचाउन आवश्यक सेवा दिने विषय भन्ने बुझिन्छ । कुनैपनि व्यक्तिलाई जीवनभरी नै स्वस्थ भई बाँच्ने चाहना हुन्छ । अर्को भाषामा भन्नुपर्दा कसैलाई पनि घाउ, चोटपटक या अन्य कुनै स्वास्थ्य समस्या अथवा रोग लागेर पीडादायी जीवन जिउने ईच्छा हुँदैन । तसर्थ, जनताको यही स्वस्थभई बाँच्ने ईच्छालाई पुरा गर्न जनस्वास्थ्य अवधारणाअनुरुप मुख्यतः पाँचवटा कार्यहरू गरिन्छ । ती पाँचवटा कार्यहरू निम्न छन् ।
(१) शरीरको रोग प्रतिरोधात्मक क्षमता उच्च राख्न स्वास्थ्य प्रर्वद्घन (Promotion of health) गर्ने ।
(२) घाउ, चोटपटक र रोग लाग्न सक्ने कारक तत्व तथा जोखिमको रोकथाम (Prevention of risk factors and causes of injury, trauma and disease) गर्ने ।
(३) विभिन्न रोगहरू विरूद्घ खोप दिएर स्वास्थ्यको प्रतिरक्षा (Protection of health) गर्ने ।
(४) माहामारी नियन्त्रण तथा जोखिम न्यूनीकरण (Control of epidemics) गर्ने ।
(५) रोगको जोखिम भएमा वा रोगको शंका लागेमा यथाशिघ्र चिकित्सकीय जाँच गर्न, उपचार गराउन र नियमित रूपमा औषधी सेवन गरी चिकित्सकको सल्लाह बमोजिम जीवनशैली परिवर्तन गर्न प्रेरणा दिने तथा त्यसको अनुगमन (Encourage for early detection, treatment and compliance to the treatment) गर्ने ।
जनस्वास्थ्यविद् प्राध्यापक योगेन्द्रप्रसाद प्रधानाङ्ग यिनै पाँचवटा बुँदाहरूलाई जनस्वास्थ्य अवधारणाको महत्वपूर्ण विशेषताका रूपमा व्याख्या गर्नुहुन्छ । जनस्वास्थ्य सेवाको मूल उद्देश्यको रूपमा रहेका यी पाँचवटा कार्यहरूः प्रर्वद्धन (Promotion), रोकथाम (Prevention), प्रतिरक्षा (Protection), नियन्त्रण (Control) र उपचारका लागि तत्कालै अवस्था पहिचान र उपचारका लागि प्रोत्साहन (Encourage for early detection, treatment and compliance to the treatment) गर्ने जसलाई छोटकरीमा P3CE भनेर बुझ्न सकिन्छ । जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने जनस्वास्थ्य पेशाकर्मीहरूले यी पाँचवटा कार्यहरू विभिन्न माध्यमबाट सम्पन्न गर्न सकिन्छ । जस्तैः
(१) स्वास्थ्य शिक्षा कार्यक्रमहरुको (Health education intervention) माध्यमबाट समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने ।
(२) जलन प्रभावितको स्वास्थ्य प्रवद्र्घन कार्य (Health promotion intervention) द्वारा प्रभावितको स्वास्थ्यलाई प्रवर्द्वन गर्न आवश्यक परामर्श या अन्य सेवाहरू दिई प्रभावित र परिवारलाई स्वास्थ्यको ख्याल राख्न सक्षम बनाउने ।
(३) स्वास्थ्यसम्बन्धी नीति, नियम तथा कानुनी (Policy, regulatory intervention) व्यवस्थापन कार्य गर्ने । माथिका स्वास्थ्यसम्बन्धी स्वास्थ्य शिक्षा कार्य र प्रभावितको स्वास्थ्य प्रवर्द्वन कार्य गर्नका लागि आवश्यक नीति, नियम तथा कानुनी व्यवस्था गर्ने ।
(४) त्यसैगरी जनतालाई स्वास्थ्यसम्बन्धी सेवा आवश्यक पर्दा सहज रूपमा सेवा उपलब्ध गराउनका लागि जनस्वास्थ्यमूलक र उपचारात्मक भौतिक पूर्वाधार तर्जुमा (Infrastructural intervention) गर्ने ।
(५) सहभागितामूलक सामुदायिक कार्यहरू (Participatory community intervention) गरी समुदायमा स्वास्थ्यसम्बन्धी कार्यहरूको सफलता र दिगोपना कायम गर्ने ।
(६) समुदायस्तरमै यी सबै कार्यक्रमहरूको व्यवस्थापन गर्नका लागि व्यवस्थापकीय संयन्त्रहरू (Managerial intervention) व्यवस्था गर्ने । जनस्वास्थ्यका यि मूख्य पाँच (P3CE) कार्यहरू र सो कार्यहरू सम्पन्न गर्न सुहाउँदो क्रियाकलापहरु गर्नुपर्ने हुनाले स्वास्थ्यको कुनैपनि पक्षलाई जनस्वास्थ्यका यस अवधारणबाट हेर्नुपर्छ । जलनको पक्षमा पनि यही सिद्घान्त लागु हुन्छ ।
जनस्वास्थ्यको आँखाबाट जलन सवालको लेखाजोखा
माथि उल्लेख गरिएको जनस्वास्थ्यको अवधारणालाई जलनको परिपेक्षमा बुझ्नका लागि विभिन्न जलन घटनाहरू मध्येको एक “हिमाल विक” को घटना (जलन त्रैमासिक पत्रिका, २०७६ बैशाख) लाई यहाँ प्रस्तुत गर्दा उपयुक्त हुने देखिन्छ ।
आफ्नो जन्मथलोमा जीविकोपार्जन गर्न गाह्रो भएर तर्माखाद गाउँपालिका, अछामका जयबहादुर विक आफ्नो र भाईका परिवारका साथ भारततिर लागेका रहेछन् । चारवर्षे छोरा हिमाल विक पनि साथमै लगेर सिम्लाको पोटखाई भन्ने ठाउँमा एउटा स्याउ बगानमा मजदुरी गरीरहेका बेलामा ६ जनाको परिवारलाई बस्नको लागि स्याउफार्मले उपलब्ध गराएको काठको एककोठे टहरा थियो । अचानक २०७४ साल माघ महिनातिर विक परिवारमा ठूलो बज्रपात आइपर्यो । २०७४ साल माघ २१ गते बेलुकी खाना खाएर केटाकेटी सुतिसकेका थिए भने अभिभावकहरु सुत्ने तरखरमा थिए । अचानक विजुलीको सर्किट सर्ट् भएर कोठामा आगो लाग्यो । हाते ट्याक्टर प्रयोगका लागि कोठामा २ लिटर पेट्रोल राखिएको जर्किनलाई आगोले भेट्यो र पेट्रोलसहितको जर्किन पड्केर आगो नियन्त्रण बाहिर गयो । केही मिनेटमै जय बहादुरको परिवार जलनको चपेटामा पर्यो । जय बहादुरका श्रीमती र भाई बुहारीको शरीरको धेरै भाग आगोले जल्यो । आफू र भाई भाग्न सकेकाले त्यति ठुलो जलन हुन पाएन तर छोरा हिमालको दुवै हात र पूरै अनुहार जल्न पुग्यो । परिवारै जलनमा परेका विक परिवारलाई जलन उपचार कहाँ हुन्छ र कति समय लाग्छ अनि खर्च कति लाग्छ भन्ने कुराको कुनै हेक्का थिएन । साहुले सहयोग गरेको सानो रकम जलनमा परेका दाजुभाईका श्रीमतीहरू र बच्चाहरूको सिम्लातिरकै स्वास्थ्यचौकीहरूमा उपचार गरेर सकिएछ । स्वास्थ्यचौकीको साधारण उपचारले जलन घाउ निको हुन नसकेपछि एक महिनापछि विक दाजुभाई दुवैका श्रीमतीहरू र भाईको छोराको मृत्यु भयो । घटनाको करिब डेढ महिनामा अनेकौं सास्ती, अभाव र पीडाप खपेर जय बहादुर र उनका भाईले हिमाललाई नेपालगन्ज अस्पताल ल्याईपुर्याए । उपचारका क्रममा एक मनकारी संस्थाको सहयोगमा काठमाडौं, साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा हिमालको थप उपचार भयो । पटक पटकको सल्यक्रिया र निरन्तर ड्रेसिङपश्चात हिमालको घाउ त निको भयो तर उनले आमा, काकी र भाई सधैंका लागि गुमाए, जुन उनलाई पछिसम्म पनि बताईएको थिएन । त्यसमाथि अनुहारमा जलन घाउले बनाईदिएको खत र पीडासँगै अब हिमालले बाँकि जीवन जीउनुपर्ने बाध्यता छ ।
माथिको घटनालाई जनस्वास्थ्यको आँखाबाट केलाउँदा के प्रष्ट हुन्छ भने विक परिवार बसेको कोठामा विजुलीको सर्किट र तारहरूको सुरक्षित तवरले व्यवस्था नहुनु, कोठा काठको हुनु (भौतिक संरचना कमजोर हुनु), कोठामै अति प्रज्वलनशिल पदार्थ पेट्रोल भण्डारण गरिनु (ज्ञानको कमीहुनु वा सर्तकता नअपनाउनु), गरिबीले गर्दा एउटै कोठामा ६ जनासम्म सुत्न बाध्य हुनु आदि कारणहरू देखिन्छन् । पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ सुरक्षित ठाउँमा सुरक्षित तवरले मात्र भण्डारण गर्नुपर्छ भन्ने ज्ञान विक परिवारका कसैमा नहुनु अर्को महत्वपूर्ण कारण हो यस घटनाको । फेरी दुर्घटना भईसक्दा पनि आर्थिक स्रोतको कमी र ज्ञानको कमीका कारण समयमै जलन विशेष उपचार पाउन नसक्नु सोचनिय विषय छ । गरिब र असहाय विक परिवारका चारजना एकैचोटी जलनमा पर्दा आर्थिक, मानसिक र शारीरिक रूपमै अति कमजोर भए विक दाजुभाई र विरानो देशमा यथाशिघ्र कहीँबाट सहयोग पनि मिल्न सकेन ।
यदि जलनबाट सुरक्षित (विजुलीका सर्किटहरू र तारको सुरक्षित व्यवस्था भएको) घर वा कोठा भएको भए, त्यसरी आगलागी हुन पाउँदैनथ्यो । अर्कोतर्फ पेट्रोल आगोजन्य पदार्थ हो र यसको भण्डारण सुरक्षित गर्नुपर्छ भन्ने ज्ञान भएको भए पेट्रोल कोठामा राखिने थिएन र आगो त्यति छिटो सल्कन पाउँदैनथ्यो । घटनापश्चात पनि यदि समयमै उचित प्राथमिक उपचार र तत्काल जलन विशेष उपचार गराउन पाएको भए हिमालका आमा, काकी र भाईले अकालमै मृत्युवरण गर्नु पर्दैनथ्यो । यस घटना त एक ‘प्रतिनिधि घटना’ मात्र हो । हरेक दिनजसो यस्ता घटनाहरू भईरहेका हुन्छन् तर यस्तो सम्वेदनशिल समस्याप्रति सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
जनस्वास्थ्य अवधारणबाट जलन रोकथाम कसरी सम्भव छ त ?
अधिकांश जलन रोकथाम गर्न सकिन्छ र जनस्वास्थ्यको अवधारणाबाट यसलाई पूर्णरूपमा कार्यान्वयन गर्न सकिन्छ । रोकथामका लागि उपचारका लागि जस्तो महंगो र व्यवस्थापन गर्न धेरै स्रोत र साधन पनि चाहिँदैन । यसका लागि जनता–समुदाय, स्थानीय सरकार र स्थानीय स्वास्थ्य ईकाइ अनि राज्यले जलनको रोकथामको महत्व बुझी जनस्वास्थ्य सेवाको कार्यान्वयन पक्षको सुनिश्चितता गराउनुपर्छ । जलन रोकथाम कार्यमा यी चारैवटा निकाय जिम्मेवार भई जनस्वास्थ्य कार्यकर्ताको नेतृत्वमा सहकार्य गर्ने हो भने जलन रोकथाम कार्य सम्भव छ ।
यस कार्यका लागि जलनको समस्यालाई महत्वपूर्ण स्वास्थ्य सवालको रूपमा लिई तहगत रूपमा आवश्यक स्वास्थ्य संरचना निर्माण गर्नु पर्दछ । राज्यले आवश्यक जनस्वास्थ्य नीति तथा योजना (Policy regulatory intervention) मा जलनलाई समावेश गर्नुपर्छ र कार्यान्वयन तहमा जलन रोकथामका लागि नीति बनाउनु पर्दछ । जलन रोकथामका लागि आवश्यक पूर्वाधारहरू (Infrastructural intervention) तयार गर्न र गराउनु पर्दछ । स्वास्थ्य संरचनामा जलन रोकथाम र उपचार व्यवस्थापन (managerial intervention) कार्यका लागि छुट्टाछुट्टै तहगत संरचनाको व्यवस्था गर्नु पर्दछ । यति भएपछि स्थानीय स्वास्थ्य ईकाइले जनस्वास्थ्य कार्यकर्ताको नेतृत्वमा सहभागितामूलक रोकथाम कार्यक्रमहरूको खाका तयार गरी सशक्त रूपमा कार्यान्वयन गर्नु पर्दछ । सहभागितामूलक माध्यमबाट (Participatory community intervention) जनचेतना अभिवृद्धि गराउने (Health education intervention) कार्यक्रमहरू गर्नु पर्दछ । जनचेतना कार्यक्रमका साथसाथै जलनको रोकथाम (Burn prevention) का लागि जनसमुदायको जलन जोखिममुक्त भौतिक संरचना जस्तै सुरक्षित चुलो, बलियो र सुरक्षित विजुली वायरिङ लगायतका संरचना बनाउने क्षमता बढाउनु पर्दछ । भान्सामा काम गर्दा सुरक्षित विधि वा साधनहरू प्रयोग गर्न र गराउन सक्षम बनाउनु पर्दछ । विजुलीसँग सम्बन्धित मर्मत तथा नियमित रूपमा विजुलीको करेण्टसँग काम गर्ने कर्मचारीहरूको सुरक्षा निश्चित गर्नु पर्दछ र कथमकदाचित जलन भईहालेमा तुरून्तै प्राथमिक उपचार गर्न र गराउन जनता, महिला स्वास्थ्य स्वयंमसेविका र स्थानीय स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम दिनु पर्दछ । यदि जलन जटिल खालको भएमा विरामीलाई जलन विशेष उपचारका लागि कहाँ र कसरी प्रेषण गर्नुपर्छ भन्ने विषयमा पनि महिला स्वास्थ्य स्वयंमसेविका र स्थानीय स्वास्थ्यकर्मीहरूलाई आवश्यक जानकारी दिनु पर्दछ भने जलन विशेष उपचारलाई धेरैजसो जनताको पहुँच हुने गरी व्यवस्था मिलाउनु पर्दछ ।
निष्कर्ष र सुझावहरु
जलन रोकथाममा काम गर्न जलनलाई केन्द्रदेखि स्थानीय तहसम्मका स्वास्थ्य प्रणालीले जलन जनस्वास्थ्य समस्या हो भनी बुझ्नु जरूरी छ । त्यसपछि जलन रोकथाम कार्यका लागि जनस्वास्थ्य अवधारणा र नीतिको कार्यान्वयन गर्नु पर्दछ । तहगत रूपमा जनस्वास्थ्य व्यवस्थापकीय संरचना अत्यावश्यक छ । यस कार्यका लागि स्वास्थ्य क्षेत्रमा काम गर्ने स्थानीय सरकारी तथा गैरसरकारी संस्थाहरू, सामुदायिक संस्थाहरू, विद्यालय, शिक्षकहरू, विद्यार्थीहरू, महिला एवं आम मानिसमा जलनबारे यथोचित अवधारणा स्पष्ट पार्नुपर्छ र सोही अनुरुप आ–आफ्नो क्षेत्रबाट जुझारु कदम चाल्नु अत्यन्त जरुरी छ । त्यसो गर्न सकिएमा देशमा जलनबाट मृत्यु हुने, अङ्गभङ्ग हुने, आर्थिक तथा मानसिक तनावबाट गुज्रनुपर्ने, सामाजिक तिरस्कारबाट प्रभावित हुनुपर्ने जस्ता समस्याबाट छट्कारा पाउन सकिन्छ ।
सन्दर्भ सामग्री
- Peck, M. D., (2019). Epodemiology of burn injuries globally, Mard G Jeschke and Kathryn A Collins (eds.) https://www.uptodate.com/contents/epidemiology-of-burn-injuries-globally, accessed on August 8, 2020
- WHO (2018). https://www.who.int/news-room/fact-sheets/detail/burns, accessed on August 8, 2020
- कमल फुयाल, (२०७६), जलनको समस्यालाई जितेका हिमाल विक, जलन पत्रिका, काठमाडौ: सगुन ।
लेखक पुण्यश्वरी सुवाल पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान
(स्तुपा कलेज)मा सहप्राध्यापकका रुपमा अध्यापन गर्नुका साथै
जनस्वास्थ्यसँग सम्बन्धित विषयमाथि हुने कार्यगत अनुसन्धान (Action research) कार्यमा सङ्लग्न हुनुहुन्छ




Very informative article