मेरो नाम पानस सुवाल हो । म नयाँठिमी भक्तपुरमा बस्छु । म एघार वर्षको भएँ र अहिले म डि.ए.भी. स्कूल जावलाखेलमा कक्षा ६ मा पढ्दैछु । मेरो बाबा अस्पतालमा काम गर्नुहुन्छ र मामु कलेजमा जनस्वास्थ्य विषय पढाउनु हुन्छ । मेरो मामु केही वर्षदेखि सगुन नाम गरेको संस्थाको टिमसँग मिलेर जलन रोकथाम गर्न तालिम दिनुहुन्छ । मलाई नयाँनयाँ कुरा सिक्न मनपर्छ । मैले पनि मामुले गर्ने तालिममा जाने भनेर भनेपछि मलाई पनि तालिममा धेरै पटक लिएर जानु भएको छ । जलनबारे पनि मैले धेरै कुरा सुन्न पाएँ । म मामुसँग जनकपुरमा भएको तालिममा जाँदा जलनमा परेको एकजना आन्टीले आफ्नो घटना सुनाउनु भएको थियो । छठ पर्वका बेला पुजा गर्दा बालेको दियोको आगोले सारीमा छोएर उहाँको खुट्टा पुरै जलेको रहेछ । त्यसपछि तालिमका अरु मान्छेहरुले पनि दियोको आगोले भेटेर जलन भएको कुराहरु सुनाउनु भयो । एकजना सानो बालिका पनि यसरी नै जलन भएर घाइते हुनु भएछ ।
हामी दशैँ, तिहार र छठ पर्वहरूमा त धरै दियोको प्रयोग गर्छौं । भक्तपुरको सुकुलढोका बजारमा पनि दुई वर्षअघि लक्ष्मीपूजाको दिन त्यो घरका हामी जस्तै केटोकेटीहरुले दियो बालेर घरको झ्यालमा राखेका रहेछन् । उनीहरुले दियो नजिकै झ्यालको पर्दा भएको कुरा याद नगर्दा दियोको आगो नजिकको पर्दामा सल्केर ठुलो आगलागी भएको थियो । घरमा मामु र बाबाले बताउनु भएको थियो त्यसै वर्ष भक्तपुरमा नै एकजना हजुरआमाले पुजा गर्न बालेको दियोबाट सुरू भएको आगोले ग्यास सिलिण्डर पड्केर आठवटा घर पुरै जलेर नष्ट भएको थियो । मानिसलाई चाहिँ केही भएनछ, तर सबै सम्पत्ति नष्ट भयो रे !
त्यसैले, हामी केटाकेटीहरूले पनि चाडपर्वहरूमा कसरी जलनबाट बच्न सकिन्छ भन्ने विषयमा बुझ्नु पर्दछ । छिट्टै तिहार आउँदैछ । तिहारमा सबैतिर झिलीमिली बत्ती बालिने हुँदा मलाई त यो चहाड धेरै मनपर्छ । हामी केटाकेटीहरु तिहारमा बत्ती बाल्छौँ र धेरै रमाइलो गर्छौं । त्यसैले हामीले तिहारको बेलामा बत्ती बाल्दा धेरै कुराको ध्यान दिनुपर्छ जस्तो लाग्छ । सानो गल्तीले ठुलो दुर्घटना हुन सक्छ, पुरै घर जल्न पनि सक्छ । मेरो बिचारमा हामीले तलका कुराहरूमा ध्यान पु¥याउन सकेमा जलनबाट बच्न सकिन्छ ।
१. दियो बाल्दा सुरक्षित ठाउँमा राखेर बाल्नु पर्छ ।
२. बलिरहेको दियो वरीपरी झ्यालमा पर्दा वा अन्य कपडा भए हटाउनु पर्छ ।
३. दियो बालेको ठाउँमा नजिकै जानु हुँदैन । नाईलनको कपडामा आगो छिट्टै टिप्नसक्ने हुनाले त्यस्तो लुगा लगाउँदा आगो नजिक जानु हुँदैन ।
४. लक्ष्मीपूजा, भाईटिका र छठमा धेरै खुकुलो लुगा लगाउनु हुँदैन । बस्दा वा निहुँरिँदा खुकुलो लुगा लत्रिएर नजिकैको दियोमा छोईन सक्छ र आगोले टिप्न सक्छ ।
५. राती सुत्नु अघि दियो निभाएर मात्र सुत्नुपर्छ ।
६. चाडपर्वका बेला भोज पकाउँदा ठुलो ग्याँस चुलो बालेको हुन्छ । त्यसैले, हामी केटाकेटीहरू भान्छामा खेल्नु हँदैन ।
७. दशैँ तिहारमा पटका पड्काउने चलन पनि छ जसले गर्दा जलन हुन सक्छ त्यसैले पटकासँग खेल्नु हुँदैन ।
८. पटका पड्काएको ठाउँमा जानु पनि हुँदैन ।
‘पानस सुवाल डि.ए.भी. स्कूल, ललितपुरमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ’



