लगभग २ दशकदेखि शिक्षण अस्पताल, महाराजगञ्जमा ‘प्लास्टिक सर्जरी तथा बर्न डिपार्टमेन्ट’मा कार्यरत प्रा.डा. इश्वर लोहनी वरिष्ठ प्लास्टिक सर्जन तथा जलन उपचार विज्ञका रुपमा परिचित हुनुहुन्छ । प्राध्यापन कार्यमा पनि सक्रिय उहाँ नेपालका विभिन्न अस्पतालमा जलन उपचार सेवामा सङ्लग्न चिकित्सक तथा नर्सहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्दै आउनु भएको छ । कमल फुयाल र महन्तवावु महर्जनद्वारा प्रा.डा. लोहनीसँग लिइएको अन्तर्वार्ताको मुल अंश यहाँ प्रस्तुत गरिएका छन् ।
आफ्नो बारेमा केही बताईदिनुस न !
म ईश्वर लोहनी । मेरो जन्म डिल्लीबजार र लामो समयदेखि कमलादीको वासिन्दा हुँ । एस.एल.सी. सम्मको शिक्षा सेन्टजेभिएर स्कुल र आईएससी अमृत साईन्स कलेजबाट पुरा गरेँ । सन् १९९१ मा भारतको मधुराई मेडिकल कलेजबाट MBBS पुरा गरेपछि शिक्षण अस्पताल, सर्जरी विभागमा ६ महिना ‘हाउस अफिसर’को रुपमा काम गरेँ । त्यसपछि मैले ‘पिजिआई चण्डीगढ’बाट ‘जनरल सर्जरी’मा ‘पोस्ट ग्य्राजुएसन’ गर्ने अवसर पाएर त्यता लागेँ अध्ययनको लागि र सन् १९९४ को डिसेम्बर महिनामा अध्ययन पुरा गरेँ । जनरल सर्जरी गर्दागर्दै प्लास्टिस सर्जरीमा पोस्टिङ भएपछि प्लास्टिक सर्जरी र बर्न (जलन)सम्बन्धी पनि धेरै सिक्न पाइयो ।
त्यतिबेला नेपालमा प्लास्टिक सर्जरीसम्बन्धी धेरै काम हुन सकेको थिएन । डा. के.डी.जोशी यस विषयमा अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । भारतमा अध्ययन गर्नेक्रममा मलाई यस विषयमा अध्ययन गर्न सके नेपाल फर्केर धेरै योगदान गर्न सकिन्छ भन्ने महसुस भयो । त्यतातिर मेरो रुचि जाग्यो र प्लास्टिक सर्जरी विषयमा गहिरिएर लाग्ने निर्णय गरेँ । त्यहिँ मैले १९९५ को जुलाईबाट प्लास्टिक सर्जरी विषयमा अध्ययन थालेँ र १९९७ को जुलाईमा उक्त कोर्ष सकेँ । यसरी प्लास्टिक सर्जरीमा एमसिएच गर्ने पहिलो नेपाली हुँ म । त्यसपछि व्यक्तिगत कारणले उतै ६ महिना बस्नुपर्ने स्थिति भएको हुँदा चण्डीगढ अस्पतालमा ६ महिना जागिर खाएँ । मैले त्यहाँ जलनका बिरामीहरुलाई उपचार गर्नुपर्थ्यो । अध्ययनको सुरुआतदेखि नै पढेर नेपाल नै फर्कनु पर्छ र यहिँ सेवा गर्नुपर्छ भन्ने कुरामा दृढ थिएँ म । त्यसैले, त्यहाँ ६ महिना काम गरेपछि १९९८ मा नेपाल फर्केँ । लगभग त्यसैवर्षदेखि यसै अस्पतालमा प्रारम्भमा करार र पछि पूर्णकालिन प्लास्टिक सर्जनको रुपमा काम गर्दै आएको छु । मैले यस अस्पतालमा जागिर सुरु गर्दा पनि ‘यदि मैले बर्न वार्ड व्यवस्थापन गर्छु भने मात्र जागिर दिने’भन्ने सर्त राखिएको थियो । उक्त सर्त मैले सहर्ष स्विकार गरेँ र जागिर सुरु गरेँ । त्यसै बेलादेखि थुप्रै जलनका बिरामीहरुको सेवा गर्दै आएको छु । बीचमा मैले यसै विषयमा अमेरिका र बेलायतमा तालिम लिने अवसर पनि पाएको थिएँ ।
प्लास्टिक सर्जरी र जलनको विषयमा त यहाँको लामो अनुभव रहेको छ । जलनसम्बन्धी प्राय कस्ता समस्या भएकाहरु भेट्नु हुन्छ ?
मेरोमा आउने प्राय जलनका बिरामीहरु आगो र तातो तरल पदार्थले पोलिएर आउने गर्दछन् । नेपालमा जलनको मुख्य प्रकार पनि आगो र तातो तरल पदार्थको कारण हुने जलन नै हो । कतिपय वृद्धाहरु पुजा गर्दा दियोको ज्वालाले साडीमा भेटिएर जलन भई आईपुग्छन् । त्यस्तै, धेरैजसो नेपाली महिलाहरुले खाना पकाउँदा साडी लगाउने हुँदा त्यसमा आगोले छिट्टै पकडन सक्छ र जलन हुन्छ । दोस्रो कारणमा पकाएको खानेकुराहरु असुरक्षित रुपमा राखिँदा साना बालबालिकाहरुले छोएर जलन भएर ल्याएको देखिन्छ । खाना पकाउने क्रममा शिशुहरुलाई वास्ता नगर्दा उनीहरु आगोमा पर्ने वा तातो वस्तुले भेटेर जलन भएकाहरु पनि थुप्रै आउँछन् । विशेषतः जाडो महिनामा आगो ताप्ने क्रममा जलन भएकाहरु थुप्रै आउँछन् ।
यहाँको बिचारमा समस्या रोकथामको लागि रोकथाम के गर्नु पर्छ होला ?
मेरो अनुभवमा समुदाय तहमा हुने ७० देखि ८० प्रतिसत जलनलाई ‘शिक्षाको माध्यम’ बाट चेतना अभिवृद्धि गरी रोकथाम गर्न सकिन्छ । हाम्रो जस्तो भौगोलिक हिसाबले बिकट बस्ती र कमजोर आर्थिक अवस्थाका जनसङ्ख्या धेरै भएको स्थितिमा स्वास्थ्य समस्याका सम्बन्धमा उपचारात्मक (Curative) भन्दा रोकथाम (Preventive) नीति प्रभावकारी हुन्छ । त्यसमाथि, कुनै पनि रोगको उपचारमा खर्च गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तर र महत्वपूर्ण रणनीति हो । जलनका सम्बन्धमा पनि यस्तै नीति लागु गरिनु पर्दछ । जलनको उपचार अन्य रोगको उपचारभन्दा ज्यादा महंगो र समय लाग्ने हुन्छ । साथै, प्राय आर्थिक रुपमा निम्न वर्गका मानिसहरु नै जलनको समस्याबाट बढी प्रभावित हुन्छन् । उनीहरुको घरको भौतिक संरचना कमजोर हुन्छ, भुइँमा दाउराले खाना पकाउँछन्, अभिभावकहरु परिवारको दैनिक गुजारा चलाउनका लागि बन्दोवस्त मिलाउन व्यस्त रहनुपर्ने हुँदा साना बालबालिका जलनबाट बढी प्रभावित हुन्छन् । जलन भैसकेपछि उनीहरुले त्यसको उपचार खर्च जुटाउन सक्दैनन् । त्यसैले पनि जलनको रोकथाम गर्नु अत्यन्तै जरुरी छ ।
रोकथामको लागि बालबालिकाहरुले नभेट्ने गरी उच्च स्थानमा चुलो बनाउने वा अगेनामा बार लगाउने कार्य गर्न सकिन्छ । यति काम मात्र गर्न सकियो भने पनि धेरै नानीहरुलाई आगोबाट जोगाउन सकिन्छ । कतिपय स्थानमा आमाहरुले आफूलाई अन्य कामकाज गर्न सजिलो होस् भनेर बच्चालाई थोरै मादक पदार्थ खुवाएर सुताउने चलन पनि छ, जसको कारण बच्चाहरु थाहा नै नपाई आगोमा पर्दछन् । यस्तो चलनलाई रोक्नुपर्छ । त्यस्तै, पछाडि ढाड फर्काएर आगो ताप्ने चलनले धेरै मान्छेलाई जलाएको देखिन्छ । त्यसैले आगो ताप्दा होस पुर्याउनु पर्दछ । पुजा गर्दा दियोलाई सही स्थानमा राख्नु पर्दछ । कुंडो, खोले पकाउँदा, तातो पानी बोक्दा सावधानी अपनाउनु पर्दछ । सानो बच्चालाई काखमा राखेर चिया खानु हुँदैन । तातो आइरन बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । आगोको सवालमा सानो कुरा भनेर हेलचेक्य्राँई गर्नु हुँदैन ।
खुसियाली मनाउँदा आगो बाल्ने, क्याम्प फायर गर्ने चलन छ – विशेषगरी युवाहरुमा । त्यसरी बालिने आगोमा मट्टितेल, पेट्रोल, स्पीरिट जस्ता अत्यन्त जलनशिल चिज हालेर थप रमाईलो गर्न खोज्दा अप्रिय घटना हुने गरेका थुप्रै उदाहरण छन् । आगोमा जलनशिल चिज हाल्ने ब्यक्तिहरु अधिकांसलाई आगोले पोलेको देखिन्छ । त्यस्ता गतिविधि रोक्नु पर्दछ ।
जलन रोकथामको लागि राज्यबाट कस्तो नीति बनाउनु पर्दछ जस्तो लाग्छ यहाँलाई ?
हालसम्म जलनसम्बन्धी कुनै पनि नीति बनेको छैन । राज्यले बेवास्ता गरेको विषय हो जलन । जलनको समस्याबाट प्राय आर्थिक रुपमा कमजोर वर्ग प्रभावित हुने हुँदा ‘ठुलाबडा’को नजरमा यो समस्या पर्न सकेको छैन । हाम्रो देशमा यसलाई विडम्बना नै मान्नुपर्छ नीति निर्माण गर्नेहरु प्रभावित नहोउन्जेल कुनै पनि समस्यालाई उनीहरु ठुलो समस्या मान्दैनन् । त्यसैले यससम्बन्धी कुनै नीति बनेको पनि छैन । तर, अहिले केही सुधार भएको छ । जलनसम्बन्धी छलफल हुन थालेको छ । जलनको उपचार गर्न गाह्रो छ चिकित्सकहरुलाई । बिरामीको धेरै सेवा गर्नुपर्छ । ३५–४० प्रतिशतभन्दा बढी जलन भएको बिरामीलाई बचाउन गाह्रो हुन्छ । त्यसैले जलनलाई रोकथाम गर्नेतर्फ बढी जोड दिनुपर्छ र यसको लागि प्रभावकारी नीति बनाईनु पर्दछ ।
ग्रामीण भेगतिर खुल्ला रुपमा आगोमा खाना पकाउने कार्यलाई रोक्नु पर्दछ । खाना बनाउने समयमा बिजुलीको भाउ सस्तो बनाएर बिजुलीबाट खाना पकाउने कुरालाई प्रोत्साहित गर्न सकिन्छ । अहिले ‘इन्डक्सन’ चुलो आएको छ, तातो पनि नहुने र करेन्ट पनि नलाग्ने । बिजुली पर्याप्त भयो भने ‘इन्डक्सन’ मा खाना पकाउने स्थिति बनाउन सकिन्छ । त्यस्तै, सौर्यशक्ति उपलब्ध गराउने कुरामा जोड दिन सकिन्छ । यसमा विशेष छुटको व्यवस्था गरिनु पर्दछ । खुल्ला र सार्वजनिक स्थानमा आगो बाल्ने कुरामा रोक लगाउनु पर्दछ । कतिपय देशमा बाहिर आगो बाल्यो र धुवाँ निक्ल्यो भने तुरुन्तै रोक्न आउँछन् प्रहरीहरु र त्यस्तो कार्य गर्नेलाई कारबाही हुन्छ । त्यसरी बाहिर जताततै आगो बाल्न नपाउने नीति ल्याउनु पर्दछ । स्वास्थ्य स्वयंसेविकामार्फत् नियमित रुपमा मानिसहरुलाई सचेत गराईरहनु पर्दछ । विद्यालयको पाठ्यक्रममा नै जलनसम्बन्धी विषयवस्तु समावेस गर्नु पर्दछ । गर्न सकिने र गर्नैपर्ने कुराहरु धेरै छन् । यसतर्फ राज्यको ध्यान जानु जरुरी छ ।
जलन भईसकेपछि निम्नवर्गले उपचार खर्च धान्न सक्दैनन् । तसर्थ, राज्यले निश्चित प्रतिशतभन्दा बढी जलन भएको बिरामीलाई निशुल्कः उपचार गर्ने नीति बनाउनु पर्दछ । हरेक मेडिकल कलेजले जलनको लागि ५ वटा बेड छुट्याउनुपर्ने नीति त छ, तर त्यो लागु भएको छैन । त्यसलाई कडाईका साथ लागु गर्नुपर्छ । मेडिकल कलेजहरु जलनको उपचार सेवा दिने सम्बन्धमा उदासिन छन् । पैसा पनि नआउने र झन्झट पनि बढ्ने भएकोले जलनको बिरामी आयो भने तुरुन्तै अन्यत्र पठाउने गर्दछन् । जलनको उपचारको लागि मेडिकल कलेजहरुलाई पनि जिम्मेवार बनाउनु पर्दछ । सानो जलनलाई समुदायमा नै उपचारको व्यवस्था गर्न स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुलाई यसबारे तालिम दिनु पर्दछ ।
स्वास्थ्यचौकीलाई के सुझाव दिनुहुन्छ ?
सामान्य जलन भएमा स्वास्थ्यचौकीमा नै उपचार गर्न सकिन्छ । उपयुक्त तरिकाले ड्रेसिङ गर्न सकियो भने सामान्य जलनको घाउ निको पार्न सकिन्छ । मलहम लगाउँदा र घाउमा नटाँसिने खालको टेप लगाउँदा पनि धेरै समस्या ठिक हुन सक्छ । अनुहार, हातखुट्टा, यौनाङ्ग, तथा शरीरको पछाडिका भागहरु जलन भएको छ भने तुरुन्तै अस्पताल पठाउनु पर्दछ । गहिरो जलन भएको छ भने बिरामीलाई तुरुन्तै अस्पताल पुर्याउनु पर्दछ । जलनका बिरामीलाई अस्पताल पठाउँदा पर्याप्त पानी दिनु पर्दछ । जलन गहिरो भयो भने बिरामीले मुखबाट पानी खान सक्दैनन् । यस्तो अवस्थामा स्लाईन दिँदै अस्पताल पुर्याउने व्यवस्था गर्नु पर्दछ । यसबारे स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बिरामीका साथमा रहेकालाई सिकाउन सक्छन् । एम्बुलेन्स चालकलाई पनि बिचबाटोमा स्लाईनको बोतल फेर्न सक्ने गरी तालिम दिनुपर्छ । यती मात्र होसियारी अपनाउन सकियो भने अस्पताल आईपुगेका धेरै बिरामीलाई बचाउन सकिन्छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
फेरी पनि जोड दिन चाहन्छु कि थोरै मात्रै होसियारी गर्दा पनि जलनको समस्यालाई रोकथाम गर्न सकिन्छ । जलनमा परेर खर्चिलो उपचार गराउनुभन्दा यसको रोकथामको लागि नै सबैजनाले ध्यान दिनु पर्दछ । आफ्नो बिचार राख्ने अवसर दिनुभयो, धन्यवाद !



